मोरङका मिटरब्याज पीडित भनिएका एक पुरुषको मृत्यु

न्युजलय १७ साउन २०८०, बुधबार १२:३८ मा प्रकाशित

विराटनगर । मोरङका मिटरब्याज पीडित भनिएका एक पुरुषको मृत्यु भएको छ । 

जिल्ला प्रशासन कार्यालय मोरङमा पीडित र पीडक पक्षको छलफलपछि विष सेवन गरेका विनित सोनारको मृत्यु भएको हो ।

यही साउन ७ गते जिल्ला प्रशासन कार्यालय मोरङमा छलफल सकेर बाहिरिने क्रममा प्रहरीले पक्राउ गरेपछि कार्यालय परिसरमै विष सेवन गरेका कटहरी गाउँपालिका–३ का अन्दाजी ३२ वर्षीय विनित सोनारको बुधबार(आज) बिहान मृत्यु भएको हो ।

डा. नितेष तिवारी विरुद्ध सोनारकी पत्नी रीताले मिटरब्याजबाट पीडित भएको उजुरी दिएकी थिइन् । उजुरी परेपछि जिल्ला प्रशासन कार्यालय मोरङले दुवै पक्षलाई साउन ७ गते छलफलका लागि बोलाएको थियो ।

जिल्ला प्रशासन कार्यालयमा छलफल पछि बाहिरिने क्रममा प्रहरीले पक्राउ गरेपछि सुनारले विष सेवन गरेका थिए ।

विष सेवनबाट गम्भीर बिरामी भएका उनलाई कोशी अस्पताल हुँदै नोबेल मेडिकल कलेज लगिएको थियो । नोबेलमा उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।