श्रीमानकोे खुकुरी प्रहारबाट दुहवीकी रेखा गम्भीर घाइते

न्युजलय १८ असार २०८०, सोमबार ०२:२६ मा प्रकाशित

विराटनगर । मोरङको बूढीगंगा गाउँपालिका–३ मा एक जना युवाले आफ्नै श्रीमतीमाथि सोमबार(आज) बिहान खुकुरी प्रहार गरेका छन् । 

मोरङ प्रहरी अनुसार ३७ वर्षीय भवेन्द्र डेकाले पत्नी २५ वर्षीया रेखा भगतलाई खुकुरी प्रहार गरेका हुन् । 

भारतको आसाम घर भएका भवेन्द्र पत्नीसँगै सुनसरीको दुहवी नगरपालिका–७ भलुवास्थित ससुराली घरमा बस्दै आएका थिए । 

पतिको खुकुरी प्रहारबाट रेखा गम्भीर घाइते भएकी छन् । गम्भीर अवस्थाकी उनलाई उपचारका लागि मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट रेखाको दाहिने नाडी र हातका २ वटा औंलामा गहिरो चोट लागेको छ । 

दाहिने नाडी र दुवै औंला छिन्न लागेको अवस्थामा फेला पारेर प्रहरीले उद्धार गरी रेखालाई उपचारका लागि अस्पताल पुर्‍याएको हो । घटनामा संलग्न भवेन्द्रलाई इलाका प्रहरी कार्यालय नेमुवाको टोलीले खुकुरीसहित पक्राउ गरेको छ । 

सामान्य पारिवारिक विवादमा उनले पत्नीमाथि खुकुरी प्रहार गरेको प्रहरीको भनाइ छ ।