इटहरी । एनआइसी एसिया बैंकले आफ्ना ऋणीहरुको घरमा सेक्युरेटी गार्ड खटाएर पहरा दिन थालेको छ । सोही क्रममा इटहरीस्थित चर्चित कलाकार विक्रम श्रिको घरमा पनि सेक्युरेटी गार्डले पहरा दिन थालेको छ ।
कलाकार श्रिले नै यस विषयमा खुलासा गरेका छन् । उनले सामाजिक सञ्जालमा तस्वीर पोस्ट गर्दै लेखेका छन् । ‘मेरो घर अगाडि उभिएको ड्युटी जवान नेपाल प्रहरी नभएर एनआइसी एसिया बैंकको सेक्युरिटी गार्ड रहेको जानकारी गराउँदछु,’ उनले आफूलाई घरमै ताला लगाएर नजरबन्द गरि प्रहरीले ड्युटी गरिरहेको भन्ने भ्रामक खबर बजारमा फैलिएको बताउँदै लेखेका छन्, ‘समयमा किस्ता बुझाउन नसक्दा बैंकले आफ्नो काम गरेको हो, यसमा मेरो गुनासो छैन, गार्डको राम्रो हेर देख गरिदिएको छौं ।’ उनले आफूले समयमा किस्ता बुझाउन खोज्दा खोज्दै पनि काम गरेको पैसा समयमा नउठ्नु, भ्रष्ट कर्मचारी र दलाल ठेकेदारहरुका कारण काम लिन र सम्पन्न गर्न सहजता नहुनु र देशमै आएको आर्थिक मन्दीका कारण नसकेको बताएका छन् ।
जस्ता कारणले गर्दा हामी जस्ता स्वावलम्वी सिर्जनशील सर्जकहरुले सजिलो गरि बैंकलाई किस्ता बुझाउन सकि रहेका छैनौं। एकै दिन एकै पटक बैंकले सात दिने, ३५ दिने र घर लिलामगर्ने पत्रीकामा छाप्ने तैयारीको सूचना को पत्र सहित घर अगाडि गार्ड राख्दा अनेकौं प्रश्न उब्जिएका छन। मलाई कालो सुची गर्नु सुझाव दिने आफन्त र कर्मचारीको बारेमा पनि ध्यानाकर्षण भएकोछ।
धेरै जना कर्मचारीबाट एकै दिन धेरै कल आएको र घर तथा कार्यक्षेत्रमा नै भेट गरि ताकेता गरिएको समेत बताउँदै उनले लेखेका छन्, ‘सहानुभूतिभन्दा हतोत्साहित बनाउने वातावरण रचना गरिनु, ऋणीको वाध्यता र परिस्थिति प्रत्यक्ष देखेर अनुभव गरेर पनि बारम्बार यस्तो दोहोरिनुले सबैलाई दुःखित बनाएको छ ।’ उनले बैंकलाई आफ्नो स्लोगन ‘बैंक पनि साथी पनि’ सम्झन आग्रहसमेत गरेका छन् ।
उनले विषम परिस्थितिमा ब्याज मात्र लिइदिएर सहयोग गर्नसमेत आग्रह गरेका छन् ।
ऋणिहरुलाई थप मानसिक यातना दिँदै बैंक
एनआइसी एसियाले आफ्ना ऋणिहरुलाई मन्दीको तनावका बिचमा थप मानसिक यातना दिन थालेको छ । आर्थिक मन्दिका कारण समयमा किस्ता तथा ब्याज तिर्न नसकेका ऋणिहरुको घरघरमा सेक्युरेटी गार्डलाई खटाउन थालेको छ ।
त्यसअघि पनि बारम्बार फोन गर्ने, घर तथा कार्यक्षेत्रमै गएर भेट्ने र ऋण तिर्न दबाब दिने गतिविधिले ऋणिहरु आतंकित बनेका छन् । ‘समयमा ऋण र ब्याज तिर्ने कसको पो चाहना होइन र,’ इटहरीस्थित बैंकका अर्का एक ऋणिले भने, ‘तर अहिलेको मन्दीमा घर व्यवहार चलाउनै पनि गाह्रो भएकोमा ऋण कसरी तिर्ने ?’
बैंकले "बैंक पनि साथी पनि" भनेर नारा राखेको छ । तर बैंकले आफ्नो नाराअनुसारको व्यवहार नगरेको ऋणिहरुको गुनासो छ । बैंकले यसअघि पनि अस्वभाविक रुपमा ब्याज बढाउने गरेको आरोप ऋणिहरुले लगाएका छन् । बैंक आफैले मिटर ब्याज लगाएको आरोप लागेको छ ।
आर्थिक मन्दी र बैंकको अत्याधिक प्रेसरकै कारण नेपालमा ऋणिहरुले आत्महत्या गर्न थालेका छन् । संकटको बेलामा सरकारले विशेष नीति ल्याएर ऋणि तथा व्यवशायीहरुलाई राहत दिनुपर्ने माग सरोकारवालाहरुको छ ।