काठमाडौं । विपन्न क्षेत्रमा र विपदको समयमा उत्कृष्ट सामाजिक सेवा गरेवापत नेपालकी एक बरिष्ठ चिकित्सक अन्तर्राष्ट्रिय अवार्डबाट पुरस्कृत भएकी छन्।
इन्टरनेशनल अवार्ड अफ एक्सिलेन्स इन डेण्टिष्ट्रीद्वारा भारतको चेन्नाईमा भएको एक कार्यक्रममा चितवनकी बरिष्ठ दन्त चिकित्सक डा.सरु थापा न्यौपानेलाई ‘बेष्ट डेण्टल च्यारिटी अवार्ड २०२२’ बाट पुरस्कृत गरिएको हो।
यस अवार्डलाई दन्त चिकित्साको ओस्कार अवार्ड भनिन्छ। वेष्ट डेण्टल च्यारिटी अवार्डबाट पुरस्कृत हुन पाउँदा हर्षित भएको बताइन्। उक्त सम्मान आफ्नो मात्र नभई सम्पूर्ण नेपालीको सम्मान भएको बताइन्।
गत वर्ष विश्व दन्त परिषदले डा. थापालाई उत्कृष्ट प्रेरणादायी महिला चिकित्सक घोषणा गरेको थियो ।
नेपाल दन्त चिकित्सक संघको भोटिङका आधारमा सर्वाधिक मत ल्याउने डा. सरुलाई संघले नेपालको प्रतिनिधित्व गरेर पठाएको थियो।
दन्त चिकित्सामा बिरामीलाई गुणस्तरीय सेवा, सामाजिक अभियानको सक्रियताको मूल्याङ्कन गर्दै उक्त सम्मान प्रदान गरिएको हो।
त्यसबेला विश्वका १३३ बढी राष्ट्रहरू सदस्य राष्ट्रहरूबाट उनी उत्कृष्ट घोषित भएकी थिइन्। डा. थापा सामाजिक अभियानमा पनि सक्रिय छन्।
विकट बस्तीमा स्वास्थ्य शिविरको साथै राहत वितरण गर्दै आएकी छन्। पहाडी भेगमा रहेका चेपाङ बस्तीका बालबालिकाको शैक्षिक विकासमा सहयोग गर्दै आएकी छन्।
उनी विगत १६ वर्षदेखि दन्त चिकित्सा सेवामा सक्रिय छिन्।