जनता माध्यमिक विद्यालयमा ६१० नवप्रवेशी विद्यार्थीलाई स्वागत

न्युजलय ९ भदौ २०८३, मङ्गलबार ०१:५७ मा प्रकाशित

इटहरी । इटहरीस्थित श्री जनता माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८३ मा कक्षा ११ मा भर्ना भएका ६१० जना विद्यार्थीलाई एक भव्य समारोहबीच स्वागत तथा सम्मान गरेको छ।


कक्षा १२ का छात्र सन्देश विक्रम राणाको अध्यक्षतामा आयोजित कार्यक्रममा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघका राष्ट्रिय अध्यक्ष तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष काशीनाथ दंगाल प्रमुख अतिथि रहेका थिए। इटहरी उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखाका प्रमुख रमेशकुमार शाह विशिष्ट अतिथिका रूपमा सहभागी थिए।


कार्यक्रममा विद्यालयका प्रधानाध्यापक खिलनाथ गौतमले स्वागत मन्तव्य राखेका थिए। कक्षा ११–१२ का संयोजक शिवराज दाहालले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै नवप्रवेशी विद्यार्थीलाई शुभकामना दिएका थिए।


सो अवसरमा विद्यालयमा कक्षा ११–१२ तर्फ अध्यापन गराउँदै आएका सेवा निवृत्त शिक्षक सीताराम गुप्तालाई मायाको चिनोसहित सम्मान तथा बिदाइ गरिएको थियो।


कार्यक्रममा महाशाखा प्रमुख शाहले विद्यालयले हासिल गरेको समग्र प्रगतिको प्रशंसा गर्दै विद्यालयको शैक्षिक उन्नतिमा शिक्षक, कर्मचारी, व्यवस्थापन र विद्यार्थीको संयुक्त प्रयास महत्वपूर्ण रहेको बताए।


हाल जनता माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा विज्ञान, शिक्षा, मानविकी, व्यवस्थापन र कानुन विषयमा गरी करिब १ हजार २०० विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक गौतमले जानकारी दिए। उनका अनुसार आगामी शैक्षिक सत्रदेखि कक्षा ११–१२ मा होटल म्यानेजमेन्ट र ब्युटिसियनलगायत थप शैक्षिक कार्यक्रम सञ्चालन गर्ने योजना रहेको छ।


प्रमुख अतिथि दंगालले विद्यार्थीलाई केन्द्रबिन्दुमा राखेर विद्यालयका शैक्षिक कार्यक्रम अघि बढाइने बताए। उनले आगामी शैक्षिक सत्रमा थप करिब १ हजार ५०० विद्यार्थीलाई भर्ना गर्न सकिने गरी आवश्यक भौतिक पूर्वाधार निर्माणको योजना सुनिश्चित भइसकेको जानकारी दिए।


कार्यक्रममा विद्यालय व्यवस्थापन समिति सदस्यहरू विमल नेपाल, नयनतारा सिटौला, मञ्जु कठायत, नगेन्द्र अधिकारीलगायत बिहान सत्रमा कार्यरत शिक्षक तथा कर्मचारीको उपस्थिति थियो। कक्षा १२ का सम्पूर्ण विद्यार्थीको सहभागिता रहेको कार्यक्रममा विद्यार्थीहरूले विभिन्न विधाका एकल तथा सामूहिक नृत्य र गायन प्रस्तुत गर्दै सांस्कृतिक कार्यक्रमसमेत गरेका थिए।