मेयर साम्पाङ गैह्र जिम्मेवार बनेपछि सद्भाव कायम गर्न जुटे पुर्वमेयरहरु

न्युजलय ७ भदौ २०८०, बिहिबार ०९:०९ मा प्रकाशित

धरान । धरानमा केही समयदेखि धार्मिक र जातिय विद्वेष फैलिएको छ । मन्दिरको छेउमा चर्च बनाएकोदेखि गोरु काटेर मासु खाएको घटनासम्म आइपुग्दा हिन्दु र गैह्र हिन्दु तथा ब्राह्मण क्षेत्री र जनजातिविच तिक्तता बढेको छ । 


यो तिक्ततालाई मलजल धरानका मेयर हर्क साम्पाङले गरिरहेका छन् । राईकै संरक्षणमा मन्दिरको अगाडी चर्च बनेको चर्चा चलेको थियो । पहिला घरजस्तो बनाएर पछि चर्च भएको थाहा पाएपछि विरोध जनाउँदै पुगेको हिन्दूहरुको समुहलाई उनले अदालत जान भनेका थिए ।


त्यसलगत्तै उनको आलोचना सुरु भएको थियो । जवाफमा उनले हिन्दू धर्म र ब्राह्मण क्षेत्रीविरुद्ध सामाजिक सञ्जालमार्फत् लगातार विष वमन गरेका थिए । जसको कारण भीड उत्तेजित हुन थालेको थियो ।


त्यसो त त्यसअघि पनि मेयर साम्पाङले धरानको समुदायलाई बारम्बार भीडाउन खोजिरहे । कहिले राजनीतिक दलहरुलाई भिडाउन खोजे त कहिले आफ्ना समर्थकहरुलाई विरोधीमाथि जाइलाग्न भने । अहिले पनि उनका समर्थकहरुको झुण्डले सामाजिक सञ्जालमा उनको आलोचना गर्नेलाई अश्लिल गाली गरिरहन्छ । केही समयअघि एक जनाविरुद्ध साइबर क्राइम अन्तर्गत उजुरी नै परेको थियो ।


पछि गोरु काटेको विवाद सतहमा आइसक्दा र त्यसले धरानको समुदायलाई दुई भागमा विभाजन गरिसक्दा पनि मेयर साम्पाङले विवाद साम्य पार्नतर्फ कुनै चासो देखाएनन् । आफ्नो पूर्ववत् शैलीअनुसार जंगलतिर बरालिइरहे, त कहिले लार्भा खोज्दै हिडिरहे । धरान सामाजिक द्वेषको आगोमा बलिरहँदा मेयर राई बेपर्वाह बसिरहे । मानौं, केही भएकै छैन । उनको मौनताले चर्च बनाउने र गोरु काट्ने समुहलाई समर्थन गरेको अनुमान लगाउन गाह्रो थिएन ।


मेयर हर्क साम्पाङले सामाजिक एकता कायम गर्न भूमिका खेल्न सक्थे । उनले चाहने हो भने र सकारात्मक पहल गर्ने हो भने उनले समस्यालाई तुरुन्तै समाधान गर्न सक्थे । तर उनले समस्या समाधान गर्न चाहेनन् वा सकेनन् । तर उनी या त नियत लुकाइरहेका छन् या त आफ्नो असक्षमता । र, बाहिर केही भएकै छैन झैं जसरी हिडिरहेका छन् । जसको कारण धरानमा सामाजिक सद्भाव भड्कीने संघारमा छ ।


वर्षौंदेखि मिलेर बसेको समुदायमा द्वन्द उत्पन्न हुन थालेपछि सामुदायिक एकताको लागि पुर्व मेयरहरुले अग्रसरता लिएका छन् । आज भएको भेलाले शुक्रवार नागरिक सद्भाव र्‍याली आयोजना गर्ने निर्णय गरेको छ ।


गोरु काटेको विरोधमा धरानमा साउन ९ गते हिन्दु तथा ब्राह्मण पक्षले वृहत् र्‍याली प्रदर्शन गर्ने र जनजाति तथा इसाइको एउटा समुहले प्रतिकार गर्ने हल्ला चलिरहँदा धरानका नागरिक समाजका अगुवा, बुद्धिजीवी सरोकारवालाहरूको भेलाले सद्भाव र्याली गर्ने भएको छ ।


भेलाले विज्ञप्ती जारी गर्दै धरानमा पछिल्लो समय देखिएको धार्मिक तथा सांस्कृतिक विवादलाई सम्बन्धित पक्षहरू बसेर वार्ता र छलफलबाट समाधान गर्न आव्हानसमेत गरेको छ । 


यस्तै धरानको धार्मिक तथा सांस्कृतिक विवादलाई समाधान गर्न शुक्रवार दिउँसो ११ बजे सर्वदलीय बैठकको लागि आह्वान गरिएको छ भने शान्ती सुरक्षा कायम गर्न प्रशासनलाई अनुरोध गरेको छ । 


विज्ञप्तिमा धरान उपमहानगरपालिकाका निवर्तमान मेयर तिलक राई, पूर्व मेयर मनोजकुमार मेन्याङबो, पूर्व मेयर कुमारबहादुर कार्की, पूर्व उपमेयर मीनकुमार सुब्बाले हस्ताक्षर गरेका छन् ।