विराटनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक जना डाक्टरको मृत्यु, अर्का घाइते

न्युजलय ३ मङ्सिर २०७८, शुक्रबार १२:४३ मा प्रकाशित

विराटनगर । विराटनगर –४ नेपाल आयल निगमनजिक बिहीबार राति दुर्घटना हुँदा एक चिकित्सकको मृत्यु भएको छ । 

दुर्घटनामा मोटरसाइकल चालक धनुषाको जनकपुर–३ का २७ वर्षीय निखिल पञ्जियारको मृत्यु भएको मोरङ ट्राफिक प्रहरीले जनाएको छ ।  पञ्जियार जनकपुरस्थित धनुषाको मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत मेडिकल अफिसर हुन्। 

दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्र–२–०२–००३ प २१८९ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको को १ ख ३२४४ नम्बरको मिनी ट्रकले ठक्कर दिँदा दुर्घटना भएको हो । ट्रकले मोटरसाइकललाई ठक्कर दिएपछि गम्भीर घाइते भएका उनलाई उपचारका लागि कोसी अस्पताल पुर्‍याउनसाथ चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ । 

दुर्घटनामा परेर मोटरसाइकलको पछाडि सवार जनकपुर–३ का २८ वर्षीय रामप्रताप साह घाइते भएका छन् । साह विराटनगरको नोबेल शिक्षण अस्पतालमा कार्यरत कन्सलटेन्ट फिजिसियन रहेको प्रहरीले जनाएको छ । उनको नोबेलमै उपचार भइरहेको छ । 

प्रहरीका अनुसार दुवै जना चिकित्सकहरु नोबेल अस्पतालबाट राति आफ्नो कोठातिर जाँदै गरेका बेला दुर्घटनामा परेको खुलेको छ । मोटरसाइकललाई ठक्कर दिएर भागेको मिनी ट्रकलाई प्रहरीले शुक्रबार मोरङको बूढीगंगा गाउँपालिका–२ बगबोनबाट नियन्त्रणमा लिएको छ । 

ट्रक चालक मोरङको ग्रामथान गाउँपालिका घर भइ बूढीगंगा–५ मा बस्दै आएका ३८ वर्षीय प्रवीण माझी फरार रहेका कारण खोजी तीव्र पारिएको मोरङ प्रहरीले जनाएको छ ।