महिला बचत सहकारीले गर्यो स्वास्थ्य सचेतना तालिम

न्युजलय २२ चैत २०८२, आइतबार ०८:४२ मा प्रकाशित

इटहरी l महिला साकोसको आयोजना तथा एन्जल फाउन्डेसन, उर्लाबारी, मोरङको प्राविधिक सहयोगमा एकदिने निःशुल्क स्वास्थ्य सचेतना तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा सर्पदंश, आगोको पोलाइ तथा करेन्ट लाग्दा गरिने प्राथमिक उपचारका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो। साथै, हृदयघात (हार्ट अट्याक) का अवस्थामा अपनाउनुपर्ने व्यवहारिक जानकारी समेत दिइएको थियो।

यसका अतिरिक्त पाइल्स, फिसर, फिस्टुला जस्ता गुप्त रोगहरू, तिनका कारण र समाधानका उपायबारे सहभागीहरूलाई सचेतना र अभिमुखीकरण गराइएको थियो।

इटहरी–४, आइतबारेस्थित दुर्गा पार्टी प्यालेसमा आयोजित कार्यक्रममा करिब दुई सय जना सदस्यहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूले यस्ता स्वास्थ्यसम्बन्धी कार्यक्रमले दैनिक जीवनमा अत्यन्त उपयोगी जानकारी प्रदान गरेको बताएका छन्।