काठमाडौं । निर्माता बनाउँछु भन्दै ६२ लाख ठगी गरेको आरोपमा फिल्म प्रसाद २ का निर्माता सुवास थापा विरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
उच्च अदालत पाटनले थापा विरुद्धको बैंकिङ कसुरमा पक्राउ पुर्जी जारी गरेको हो। केशव पाण्डेले दिएको निवेदनको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंले अदालतबाट पक्राउको अनुमती ल्याएको हो।
काठमाडौं परिसर प्रमुख दानबहादुर कार्कीले थापा बिरुद्ध उजुरी परेको र उनी फरार रहेको बताए। प्रसादको निर्माता रहेका उनले प्रसाद–२ को निर्माता बनाउँछु भन्दै पाण्डेसँग ६२ लाख ५० हजार लिएर पछि अर्कैलाई निर्माता बनाएर फिल्मको छायाँकन सक्काएका थिए।
थापाले कलाकार, प्राविधिक र फिल्म सुटिङ गरेको कास्कीको होमस्टेको समेत पैसा नदिई फरार भएपछि कलाकार संघ, प्राविधिक संघ र चलचित्र विकास बोर्डमा उजुरी परिसकेको छ। पाण्डेले निर्माता संघमा समेत उजुरी दिएको बताए।
फिल्मको आवरणमा ठगी गर्दै आएका उनले प्रसाद–२ छोराको नाममा दर्ता गरेर सेन्सर पास गराउने प्रयास गरेका छन्। बैंकिङ कसुरमा फरार रहेका थापाले फेसबुकमा लेख्दै फिल्म रिलिज भएपछि सबैको पैसा तिर्ने दाबी गरेका छन्।