लालबहादुर विश्वकर्मा आज जेलमुक्त हुँदै

न्युजलय १७ साउन २०८०, बुधबार ०१:४६ मा प्रकाशित

विराटनगर । विनाइजाजत बैंक तथा वित्तीय कारोबार र ठगी गरेको आरोपमा कारागारमा रहेका इटहरीका लालबहादुर विश्वकर्मा बुधबार (आज) जेल मुक्त हुने भएका छन् ।

उच्च अदालत विराटनगरले मंगलवार लालबहादुरसहित तीन जनालाई सफाइ दिएको थियो । सुनसरी जिल्ला अदालतको आदेशमा उनी ३ करोड बिगो जरिवाना तिर्न नसक्दा झुम्का कारागारमा रहेका थिए । 

उच्च अदालत विराटनगरका न्यायाधीशद्वय विपुल न्यौपाने र मिलनकुमार राईको संयुक्त इजलासले विश्वकर्मालाई विनाइजाजत बैंक तथा वित्तीय कारोबार र ठगी दुवै मुद्दामा सफाइ दिएको थियो । 

विनाइजाजत बैंक तथा वित्तीय कारोबारमा कृष्णबहादुर विश्वकर्मा गजमेर र सीता विश्वकर्मालाई पनि उच्चले सफाइ दिइएको छ । विकलाई रिहाइ गर्न कागजात मिलाउने प्रक्रिया सकिएको झुम्का कारागारले जनाएको छ ।

२७५ जनाले १० हजारदेखि १० लाख रुपैयाँसम्म ठगी गरेको भन्दै मुद्दा दिएका थिए । उजुरीमा अढाई वर्षदेखि ज्वेलर्समा कालिगडका रूपमा कार्यरत लालबहादुरलाई पनि विपक्षी बनाइएको थियो ।