ज्याला मजदुरमाथि ठेकेदारको अमानवीय व्यवहार, विद्युत् पोलमा बाँधेर दुर्व्यवहार

न्युजलय २९ चैत २०७९, बुधबार ०१:२६ मा प्रकाशित

महोत्तरी । महोत्तरीको लोहारपट्टी नगरपालिकामा एकजना मजदुरमाथि अमानवीय व्यवहार गरेको घटना सार्वजनिक भएको छ ।

काम गरेको ज्याला माग्दा लोहारपट्टी नगरपालिका–६ का निर्माण व्यवसायी कृष्ण मिश्रले स्थानीय मोबारक नदाफलाई दुर्व्यवहार गरेको घटना सार्वजनिक भएको हो ।

गत २३ चैतको बिहान नदाफलाई ज्यालाका लागि बोलाएर चोरी गरेको भन्दै विद्युत् पोलमा पाता कसेर मिश्रले नदाफलाई अमानवीय व्यवहार गरेका थिए ।

अनुसन्धानका क्रममा व्यवसायी मिश्रले ती कर्मचारीको कपाल मुण्डन गर्नुका साथै मोसो दलेर दुर्व्यवहार गरेको पाइएको महोत्तरी प्रहरीले जनाएको छ ।  

घटनाको भोलिपल्ट सामाजिक सञ्जालमा भिडियो दखेपछि प्रहरीले मिश्रलाई नियन्त्रणमा लिएको छ । उनीविरुद्ध अमानवीय अपमानजनक व्यवहार कसुरमा मुद्दा चलाएको प्रहरीले जनाएको छ । अमानवीय व्यवहार गरिएका नदाफ मिश्रले पाएका ठेक्कामा मजदुरी गर्दै आएका थिए ।

रमजान मनाउन निर्माण व्यवसायी मिश्रसँग काम गरेको ज्याला मागेपछि नदिँदा उनले काम गर्दैगर्दा एउटा औजार लगेका थिए । औजार लिएर आएपछि पैसा दिने भन्दै गाउँमै रहेको शिव मन्दिरमा बोलाएर चोरीको आरोप लगाउँदै मिश्रले कुटेको स्थानीयले बताएका छन् ।