ट्वीट गर्दा प्रयोग गरिएको डिभाइसको नाम अब नदेखिने

न्युजलय ५ पुस २०७९, मङ्गलबार ०७:०४ मा प्रकाशित

काठमाडौं । अब ट्वीटरमा अन्य प्रयोगकर्ताले कुन डिभाइसबाट ट्वीट गरेको हो भनेर थाहा नपाउने भएका छन् । यसअघि कुनै पनि प्रयोगकर्ताले आईफोन वा अन्य एन्ड्रोइड डिभाइस वा वेबबाट ट्वीट गरेको भन्ने विषयमा जानकारी आउँथ्यो ।


जस्तो कि कोही प्रयोगकर्ताले आईफोनबाट ट्वीट गरेको छ भने उक्त पोस्टको छेउमा ‘ट्वीट फ्रम आईफोन’ भन्ने सन्देश आउँथ्यो । अथवा एन्ड्रोइड डिभाइसबाट गरेको हो भने ‘ट्वीट फ्रम एन्ड्रोइड’ भनेर आउँथ्यो । तर अब भने यस्तो प्रकारको सन्देश नदेखिने भएको छ । 


कम्पनीका मालिक एलन मस्कले यो फिचर हटेको विषयमा जानकारी दिएका छन् । कम्पनीले केही दिनदेखि यो फिचर हटाउन लागि परीक्षण गरिरहेको थियो । एलन मस्कले पनि एक महिनाअघि एक ट्वीट गर्दै यो फिचर हटाउने बारेमा कम्पनीले सल्लाह गरिरहेको बताएको थियो । सोही अनुरूप आइतबारदेखि कम्पनीले यो फिचर हटाएको छ ।  


तर, हालसम्म नेपालको लोकेसनमा भने वेबबाट मात्र उक्त फिचर हटाइएको देख्न सकिन्छ । अर्थात् नेपालको लोकेसनमा ब्राउजरबाट ट्वीट हेर्दा कुन डिभाइसबाट ट्वीट गरिएको हो भन्ने कुरा देख्न सकिँदैन । तर एन्ड्रोइड तथा आईओएस डिभाइसमा भने अहिलेसम्म पनि कुन डिभाइसबाट ट्वीट गरिएको हो भन्ने हेर्न सकिन्छ ।


कतिपय देशका प्रयोगकर्ताले यो फिचर एन्ड्रोइड वा आईओएसबाट पनि हटेको उल्लेख गरेका छन् । नेपालबाट भने हालसम्म पनि ट्वीट कुन डिभाइसबाट गरिएको छ भन्ने कुरा हेर्न सकिन्छ ।