इटहरी । इटहरीमा तीन जना सर्जकहरु सम्मानित हुने भएका छन् । विशिष्ठ कवि स्व. जीबी लुगुनको पहलमा स्थापित साहित्यिक संस्था अच्छा राई रसिक साहित्य प्रतिष्ठान इटहरीद्वारा सम्मानित हुने भएका हुन् ।
आउँदो असोज १९ गते विशिष्ट साहित्यकारहरु दिनेशकुमार थपलिया, बलरामप्रसाद पोखरेल र वम देवानलाई सम्मान गर्ने निर्णय गरिएको संस्थाका अध्यक्ष लेखनाथ घिमिरेले जानकारी दिए ।
संस्थाले स्थापना कालदेखि नै देश विदेशका साहित्यिक साँस्कृतिक क्षेत्रमा योगदान गर्ने व्यक्तिहरुलाई वर्षेनी सम्मान गर्दै आएको छ । यस्तै साहित्यिक सामाजिक क्षेत्रमा योगदान गर्ने व्यक्ति व्यक्तित्वको विशेषांकको रूपमा प्राञ्जललगायत विभिन्न साहित्यिक ग्रन्थहरूको प्रकाशन गर्दै आएको छ ।
संस्थाद्वारा यसअघि कलाकार विक्रमश्री, साहित्यकार डा. नरेन्द्र चापागाई, भाषाशास्त्री भानुभक्त पोखरेल, साहित्यकार भूपाल राई, साहित्यकार प्रा. रामलाल अधिकारी, साहित्यकार शुभ मुकारुङ्ग, पत्रकार प्रतिभा विवस राई, साहित्यकार उपेन्द्र पागल, साहित्यकार अनिल पौडेल, संङ्गीतकर्मी सुरेश गन्धर्व, साहित्यकार ज्योती जङ्गम, साहित्यकार वियोग सापकोटालाई सम्मानित भइसकेका छन् ।