भोजपुरबाट धरान हिडेकी महिला बसमा मृत भेटिइन

न्युजलय ८ पुस २०७८, बिहिबार १०:२३ मा प्रकाशित

धरान । इटहरी, धरानहुँदै भोजपुरसम्म चल्ने बसमा एक महिला सिटमै मृत भेटिएकी छन् । 

भोजपुरबाट धरानका लागि हिडेको सहयात्री बसमा भोजपुरको अरुण गाउँपालिका ५ घर भएकी करिब ३५ वर्षीया कमला भुजेल श्रेष्ठ बुधबार मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

प्रहरीका अनुसार बुधबार करिब साढे ३ बजे धनकुटाको पात्लेखोलानजिक सो बस आइपुग्दा उनि मृत भेटिएपछि बसका कर्मचारीले प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । 

धरान आउँदै गरेको प्र १–०२–००१ ख ८१०७ नम्बरको सहयात्री नामक बसमा सवार उनि सिटमा घोप्टे परेको र अचेत अवस्थामा भेटिएकी थिइन् । बसका कर्मचारीले थाहा पाएपछि उनलाई जिल्ला अस्पताल धनकुटा लगिएको थियो । त्यहाँ पुगेपछि उनलाई चिकित्सकले मृत घोषित गरेका थिए ।

उनी भोजपुरबाट तीन वर्षीया छोरीसँगै बसमा चढेको बसका कर्मचारीहरु बताउँछन् । उनी भोजपुर घर भएपनि श्रीमानसहित धरानमा बस्दै आएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनी माइतीगाउँबाट धरान फर्किदै थिइन् । प्रहरीले उनको शरीरमा कुनै चोटपटक नदेखिएको जनाएको छ । घटनाका बिषय आवश्यक अनुसन्धान अगाडी बढाएको र के कति कारणले उनको मृत्यु भयो भन्ने बिषयमा यकिन भइनसकेको प्रहरीले जनाएको छ ।