सिलिन्डरमा कम ग्यास भेटिएपछि कोशी ग्यासलाई जरिवाना

न्युजलय २६ साउन २०८३, मङ्गलबार ०४:१४ मा प्रकाशित

मोरङ । एलपी ग्यासको सिलिन्डरमा तोकिएको परिमाणभन्दा कम ग्यास भेटिएपछि मोरङको कोशी ग्यास उद्योग कारबाहीमा परेको छ।

जिल्ला प्रशासन कार्यालय मोरङले बजार अनुगमनका क्रममा बूढीगंगा गाउँपालिका–४ स्थित कोशी ग्यास उद्योग प्रालिका सिलिन्डरमा तौलसम्बन्धी कैफियत भेटिएपछि दुई लाख ९० हजार जरिवाना गरेको हो।

प्रशासनका अनुसार उद्योग परिसरमा रहेका १४३ वटा भरिएका सिलिन्डरमध्ये ६४ वटाको तौल परीक्षण गरिएको थियो।

परीक्षण गर्दा एउटा सिलिन्डरमा १३.७४५ किलोग्राम मात्र ग्यास भेटिएको थियो। बाँकी ६३ वटा सिलिन्डरको समेत औसत तौल मापदण्डभन्दा कम पाइएको प्रशासनले जनाएको छ।

अनुगमनका क्रममा खाली सिलिन्डरको तौलसमेत परीक्षण गर्दा तोकिएकोभन्दा १०० देखि १५० ग्रामसम्म बढी पाइएको थियो। खाली सिलिन्डरको तौल बढी हुँदा उपभोक्ताले तिर्ने रकमअनुसार वास्तविक ग्यासको परिमाण अझ कम हुन सक्ने प्रशासनको निष्कर्ष छ।