‘सरकारको सहयोग भयो भने सार्कस्तरीय रंगमञ्च गर्न सकिन्छ’ : जयन्ती

न्युजलय १५ कार्तिक २०८०, बुधबार ०८:२६ मा प्रकाशित

इटहरी । अग्रज कलाकारहरुलाई स्टेजमा नाटक गर्न लगाएर सुरु भएको थियो कलालय इटहरी । त्यसपछि स साना स्कुले बालबालिकाहरुलाई नाटक सिकाउँदै इटहरीको नाट्य तथा कलाको क्षेत्रलाई चलायमान गराइरहेको इतिहास र वर्तमान कलालय इटहरीले कोरेको छ ।

त्यही संस्था पछिल्ला दिनमा अन्तर्राष्ट्रिय कलाकारहरुको समुदायमा आफ्नो सम्बन्ध विस्तारमा लागिपरेको छ । जसबाट एकातिर इटहरीको कला, नाट्यको फैलावट बढ्दो छ भने अर्कोतिर अन्तर्राष्ट्यि तौर तरिकाबारे जान्ने मौकासमेत मिलेको छ ।

कलालय इटहरी अहिले दोस्रो अन्तरदेशीय साझा रंगमञ्च २०८० कार्यक्रमको सम्मुख छ । कात्तिक १९ गते देखि २१ गतेसम्म हुने नाट्य प्रदर्शनीमा नेपालका साथै पश्चिम बंगालका कलाकारहरुको समेत टोलीले नाटक प्रदर्शन गर्ने कार्यक्रम छ ।

जसअन्तर्गत पश्चिम बङ्गालको कृष्णनगर जीबोनर एकतान नामक संस्थाले १९ गते आइतबार एक्टु अगुन दे नामक नाटक प्रस्तुत गर्दैछ । महिला कलाकारहरुको टोलीले नाटक प्रस्तुत गर्नेछन् । केही वर्षअघि पनि भारतीय कलाकारहरुको एउटा टोलीले इटहरीमा नाटक प्रदर्शन गरिसकेका छन् । त्यसैले यो दोस्रो अन्तर्राष्ट्रिय रंगमन्च हो । 

भारतीय टोलीका बाबजुद २० गते बिहान दमकको कदम थिएटर,  र बेलुका विराटनगरको आरोहण गुरुकुलले नाटक प्रदर्शन गर्नेछन् भने २१ गते इटहरीको कलालय इटहरीले नाटक प्रस्तुत गर्नेछ ।

त्यसअघि १७ र १८ गते एकीकृत सरकारी कर्मचारी संगठन नेपाल सुनसरीले नाटक शत्रुको विशेष प्रदर्शन गर्दैछ । दुई दिनको दुई शो को सबै व्यवस्थापन र आयोजना नै संगठनले गर्दैछ ।


कसैले एक छाक खाना सौजन्य गरेका छन् भने कसैले मायाको चिनो 

इटहरीको नाट्य र कला क्षेत्रलाई कसरी अन्तर्राष्ट्रि स्तरमा फैलाउन सकिन्छ भन्ने विषयमा अहिले कलालय इटहरी लागिपरेको छ । ‘त्यसो भयो भने इटहरीका कलाकारहरुको एक्सपोजर राम्रो हुन्छ, कलाकारहरुलाईसमेत विभिन्न अवसरको ढोका खुल्छ,’ कलालय इटहरीको कार्यशालामा नाटक सिकेकाहरु अहिले नाटक लेखन, निर्देशनमा सक्रिय रहेको बताउँदै संस्थाका अध्यक्ष सोनु जयन्ती भन्छन्, ‘अहिले पश्चिम बंगालसँग हाम्रो सम्बन्ध विकास भएको छ, अर्को वर्ष सार्कस्तरीय रंगमञ्च गर्न सकिन्छ ।’

उनका अनुसार यस्तो कार्यक्रम र प्रयासले कलालकारहरुलाई मात्र फाइदा हुँदैन, बरु दुई देशका सरकार वा स्थानीय सरकारलाईसमेत फाइदा पुग्छ । ‘दुई देश वा शहरहरुबिच सम्बन्ध सुमधुर बनाउनको लागि पुलको काम गर्छ,’ उनी भन्छन्, ‘कलाको माध्यमबाट बनेको सम्बन्धले इटहरीमा भोलिका दिनमा यहाँको शिक्षा, स्वास्थ्य, कला, पर्यटन, पुर्वाधार विकासमा समेत योगदान पुग्ने अवस्था सृजना हुन सक्छ ।’

कलालय इटहरीले आफ्ना कार्यक्रमहरुको लागि भरपर्दो सरकारी सहयोग पाइरहेको छैन । यस पटक प्रदेश सरकारले सहयोग गर्ने आश्वासन दिएर बजेट विनियोजन गरेको छ, तर खाता खुलेको छैन । इटहरीको स्थानीय सरकारबाट सहयोग छैन । संघीय सरकारबाट झन् पाउने कुरै भएन । यहाँका कलाकार तथा कलाप्रेमी व्यवशायीहरुले सानो सानो सहयोग जुटाइदिएका छन् । कसैले एक छाक खाना सहयोग गरेका छन् त कसैले मायाको चिनो सौजन्य । 

‘सरकारको सहयोग हुने हो भने वर्षेनी सार्कस्तरीय कार्यक्रम गर्न सकिन्थ्यो,’ त्यती गर्न सके इटहरीको छुट्टै विशेषता कायम हुने दावी गर्दै जयन्ती भन्छन्, ‘अन्तरदेशीय रंगमञ्च मात्र होइन, जुनसुकै कार्यक्रमलाई यहाँको सरकार, प्रदेश तथा संघमा प्रतिनिधित्व गरेर जाने सांसदहरुले सामुहिक प्रतिष्ठाको रुपमा लिन सकेमा मात्र इटहरीको कला क्षेत्रको विकास हुन्छ ।’