विराटनगर । मोरङको ग्रामथान गाउँपालिकास्थित एक विद्यालयमा एसइईको परीक्षा दिइरहेका ३१ जना नक्कली विद्यार्थी पक्राउ परेका छन् ।
सरस्वती माविमा खुल्लातर्फ सामाजिक शिक्षाको परीक्षा दिइरहेका ३१ जना नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको मोरङका शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख टंक गौतमले जानकारी दिए।
बुढीगंगा गाउँपालिकाको टंकीसिनुवारीस्थित नरग्राम माविका विद्यार्थीको नाममा परीक्षा दिइरहेका नक्कली विद्यार्थी पक्राउ गरिएको गौतमले बताए।
विद्यार्थीले प्रवेशपत्रमा फोटो उप्काएका थिए। शंका लागेर सोधपुछ गर्दा विद्यार्थीले आफ्नो आमाबुवाको नाम भन्न नसकेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो।
गौतमले ३१ जनालाई पक्राउ गरी सोधपुछ गर्ने काम भइरहेको जानकारी दिए। यसअघि, बुधबार पनि सोही विद्यालयबाट विज्ञान विषयको परीक्षा दिँदै गर्दा एक विद्यार्थीलाई नक्कली पहिचान गरी पक्राउ गरिएको थियो।