विपन्न समुदायका किसानलाई कृषि यान्त्रिकरणबारे जानकारी

न्युजलय ५ जेठ २०८०, शुक्रबार १०:०० मा प्रकाशित

विराटनगर । सुनसरीको बर्जुस्थित सबल साना किसान कृषि सहकारी संस्था लि. ले किसानहरुसँग कृषि यान्त्रिकरण र बजारीकरण सेवाबारे छलफल गरेको छ । 

संस्थाले यान्त्रिकरणका साथै गोदाम र संकलन सेवाबारे किसानहरुसँग अभिमुखीकरण कार्यक्रम गरेको हो । कार्यक्रममा सो क्षेत्रका विपन्न र खासगरी मुस्लिम समुदायका ५० जनाभन्दा बढी किसानहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा किसानहरुले आफूले भोग्नुपरेको समस्याबारे गुनासो गरेका थिए भने आयोजक संस्थाका पदमबहादुर चौधरीले कार्यक्रमको बारेमा जानकारी दिएका थिए ।

कार्यक्रममा संस्थाले सञ्चालन गरेको कस्टम हायरिङ सेन्टरकी मेनेजर शुशीला दाहाल, कृषि इन्जिनियर पुजा काफ्लेलगायतले सहजीकरण गरेका थिए । 

सबल साना किसान कृषि सहकारीले अहिले प्रदेश सरकारसँगको साझेदारीमा कृषि यान्त्रिकरण कार्यक्रमअन्तर्गतको कस्टम हायरिङ सेन्टर सञ्चालन गरिरहेको छ । कृषि यान्त्रिरणको प्रबद्र्धन तथा बजारीकरण र पहुँचका लागि सहज कार्यक्रमले प्राविधिक सहयोग गरिरहेको छ ।

कस्टम हायरिङ सेन्टरले परम्परागत कृषिलाई आधुनिक प्रविधिद्वारा विस्थापन गर्ने उद्देश्य लिएको छ । परम्परागत श्रमशक्तिभन्दा छिटो, सस्तो र सजिलो हुने भएकोले कृषि यान्त्रिकरणको लोकप्रियता बढ्दो छ ।