घोडेटार भोजपुर जोड्ने कावा खोलाको पुल निर्माण नसकिँदै भाँचियो

अर्जुन राई अपहेलित १२ मङ्सिर २०७८, आइतबार ११:५१ मा प्रकाशित

घोडेटार । घोडेटार र भोजपुर सदरमुकाम जोड्ने कावाखोलाको निर्माणाधीन पक्कि पुल निर्माण सम्पन्न नभईसक्दा भाँचिएको छ । 

हतुवागढी गाउँपालिका-२ लुङ्गिन र रामप्रसाद राई गाउँपालिका -५ मानेभञ्ज्याङ सिमाक्षेत्र कावा खोला स्थित ५ करोड रुपैयाँभन्दा बढीको लागतमा निर्माण भइरहेको पक्की पुल भाँचिएको हो ।

स्विस सरकारको आर्थिक सहयोगमा निर्माण भइ रहेको उक्त पुल ४५ मिटर लम्बाइ र ६ मिटर चौडाइ रहेको थियो । पुलको डिजाइन अवधि ८० वर्षको र पुल भूकम्प प्रतिरोधी हुने प्राविधिकले बताएको भए पनि पुल निर्माणको क्रममा भाँचिएको हो ।

यस सडक खण्डलाई भोजपुरको उत्तर–दक्षिण घोडेटार जोड्दै सङ्खुवासभाको किमाथाङ्कासम्म कालोपत्रे गर्ने लक्ष्यले सडक विस्तारको कामकाे थालनी गरिएकाे बताइएको छ ।

उक्त पुल प्राविधिक त्रुटिले भत्किएको हुन सक्ने तथा गम्भीरतापूर्वक सम्बन्धित पक्षसँग संवाद भइ रहेको हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले जनाएका छन् । 

पुल भत्किएको विषयमा छानबिन गर्न काठमाण्डौबाट विज्ञ टोली आउने पूर्वाधार विकास कार्यालय भोजपुरले जनाएको छ ।