गुलाफ चिन्ह लिएर चुनाव लड्दै सशस्त्र युद्ध गरेका प्लाटुन कमाण्डर आशुतोष

न्युजलय ७ फाल्गुण २०८२, बिहिबार ०८:४५ मा प्रकाशित

सुनसरी । २०५२ सालदेखि सञ्चालन भएको जनयुद्धको समयमा ११ वर्षको बालक रहेका आशुतोष ढुङ्गेलको मनमा सानैदेखि क्रान्तिकारी भावना थियो । जसको कारण उनी पनि जनयुद्धमा सहभागि भएर प्लाटुन कमाण्डरसम्म बने । 


माओवादी खुला राजनीतिमा गएपछि भने उनले खासै अवसर पाएनन् । अहिले नेकपा माओवादी विप्लब समुहमा रहेका उनी सुनसरी क्षेत्र नं. ३ बाट प्रतितिनिसभाका उम्मेदवार छन् । सशस्त्र युद्ध लडेका माओवादी कमाण्डर अहिले  ‘गुलाफको फूल’ चुनाव चिन्ह लिएर संसदीय यात्राको मार्गमा छन् ।


बाल्यकालदेखि वर्गसंघर्षको चेत


ढुङ्गेल विद्यार्थी जीवनमै राजनीतिक गतिविधिमा सक्रिय थिए । बाल्यकालमै वर्गसंघर्ष, शोषित–पीडितको पक्षमा उभिने चेत विकास भएको बताउने ढुङ्गेलले जनयुद्धका समयमा ‘बालसिपाही’को भूमिकामा सूचना संकलन, भित्तेलेखन र प्रचारप्रसारका कार्य गरेको स्मरण गर्छन्। 


जनता माविमा अध्ययनरत रहँदा २०५४ सालताका अनेरास्ववियु (क्रान्तिकारी) का साथीहरूले विद्यालयमा इकाइ कमिटी गठन गरेपछि उनी अध्यक्ष बनेर काम गरेका थिए । त्यही क्रममा उनले चिनियाँ कम्युनिस्ट पार्टी र माओवादसम्बन्धी पुस्तकहरू अध्ययन गरेका थिए ।



गिरफ्तारीदेखि जनमुक्ति सेनासम्म

२०५६ सालमा विद्यार्थी संगठनको पहिलो जिल्ला सम्मेलनका क्रममा उनीसहित ४३ जना पक्राउ परेका थिए। एसएलसी परीक्षापछि पूर्ण भूमिगत भएका ढुङ्गेल २०५८ सालमा सुनसरी–मोरङ संयुक्त जिल्लामा जनमुक्ति सेनाको प्लाटुन कमान्डर बनेर काम गरेका थिए।


२०५८ मा देशमा संकटकाल घोषणा भएपछि तत्कालीन शाही सेनाको दमनका कारण संगठन तितरबितर भयो। त्यसपछि दुई वर्ष काठमाडौंमा बिताएका उनले २०६० सालमा विवाह गरे र श्रम–मजदुरी गर्दै पारिवारिक जीवनसँगै पार्टी गतिविधि निरन्तरता दिए ।


परिवर्तनको अपेक्षा र निराशा

माओवादी पार्टी देशको पहिलो शक्ति बनेपछि परिवर्तनको आशा जागे पनि अपेक्षाअनुसार जनताले ‘जनताको सरकार’ नपाएको ढुङ्गेलको भनाइ छ। धर्मनिरपेक्षता, संघीयता, समावेशीता र गणतन्त्र आए पनि जनजीवनमा ठोस परिवर्तन नदेखिएको उनको टिप्पणी छ ।


राजनीतिक निराशाबीच उनी वैदेशिक रोजगारीका लागि कतार र साउदी अरब गएर श्रम गरे। फर्किएपछि केही समय वाइसियलको जिम्मेवारी सम्हालेका उनले पुनः पार्टीमा सक्रियता बढाउँदै नगर सचिवालय सदस्यका रूपमा काम गर्दै आएका थिए ।


उम्मेदवारीका आधार


ढुङ्गेलले आफ्नो उम्मेदवारी ‘पहुंचवालाहरूले जनयुद्धको नाम बेचेर सम्पत्ति कमाउने प्रवृत्तिको विरोध’का लागि रहेको बताएका छन्। जनतालाई आश्वासन मात्रै दिने, न्यूनतम अधिकारका विषयमा नबोल्ने, भ्रष्टाचार उन्मूलनको नाममा स्वयं भ्रष्टाचार गर्ने र देशलाई अन्योलतामा राख्ने प्रवृत्तिविरुद्ध आफू चुनावमा उभिएको उनको दाबी छ।


जितेपछि के गर्ने ?


निर्वाचनमा विजयी भए आफू श्रम र उत्पादनमा आधारित अर्थनीति अघि बढाउने ढुङ्गेलको योजना छ। वैज्ञानिक कृषिमा जोड, युवा शक्तिलाई विज्ञान–प्रविधि र कृषिसँग जोड्ने, आयात घटाएर निर्यात बढाउने, आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने तथा युवालाई वैदेशिक रोजगारीमा जान बाध्य पार्ने कानुनी व्यवस्थाहरू खारेज गर्ने उनको प्रतिबद्धता छ ।


“कृषि, उद्योग र पर्यटनमा आधारित आत्मनिर्भर अर्थतन्त्र निर्माण गरी नेपाललाई विश्वकै नमुना देश बनाउने लक्ष्यसहित मैदानमा उत्रिएको छु,” ढुङ्गेलले बताएका छन्।