विराटनगर । ठगी आरोपमा जिल्ला अदालत सुनसरीको आदेशमा जेल परेका इटहरीका लालबहादुर विश्वकर्मा मंगलबार उच्च अदालतबाट सफाइ पाएसँगै बुधबार रिहा भएका छन् ।
छोरालाई लिन लालबहादुरका ७० वर्षीय बुवा हर्कबहादुर र ६८ वर्षीया आमा सीता बिहान १० बजेतिरै झुम्का कारागार पुगेका थिए । सँगै उनको न्यायका लागि आन्दोलनरत समुहसमेत पुगेको थियो । अदालतको थुनामुक्त गर्ने पत्र मेलबाट आउनेबित्तिकै लालबहादुरलाई कारागारबाट बाहिर निकाल्ने प्रक्रिया सुरु गरिएको थियो । उनलाई चौकीदार श्रीकुमार राई लगायतको टिमले कारागारबाट बिदाइ गरेका थिए । कारागारभित्र बिदाइ कार्यक्रम झण्डै दुई घण्टा चलेको थियो ।
लालबहादुर रिहा भएपछि परिवारले खुसी व्यक्त गरेको छ । मंसिरदेखि मंगलबारसम्म उच्च अदालत विराटनगर धाउँदा र कानुन व्यवसायीको शुल्क गरेर करिब अढाई लाख रुपैयाँ खर्च भएको र उक्त रकम सबै आफन्त र स्थानीय सहयोगीले स्वतः स्फूर्त उपलब्ध गराएको थियो ।
‘बसाइका क्रममा केही सिक्ने मौका पनि मिल्यो,’ कारागारबाट बाहिर निस्केपछि लालबहादुरले भने । उनले सबै शुभेच्छुकलाई धन्यवादसमेत दिए ।