काठमाडौं । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालको राष्ट्रिय सम्मेलनबाट सचिवमा इटहरीका काशीनाथ दंगाल चयन भएका छन् । सर्वसम्मत चयन भएको ९७ सदस्यीय नयाँ केन्द्रिय समितिमा इटहरीस्थित जनता स्कुल व्यवस्थापन समितिका अध्यक्ष दंगाल खुलातर्फ सचिवमा चयन भएका हुन् ।
दंगालको नेतृत्वमा जनता स्कुलले तीन वर्षको अवधिमै काँचुली फेरेको छ । विद्यार्थी संख्या थेग्नै नसकिनेगरी बढेको छ भने विद्यालयको पूर्वाधार विकास पनि व्यवस्थित तरिकाले अघि बढेको छ । सुनसरीबाट केन्द्रिय सदस्यको रुपमा पकली उच्च माविका विनोद झा चयन भएका छन् ।
भेलाले गुणराज मुक्तानलाई अध्यक्ष र खड्गराज सेजुवाललाई वरिष्ठ उपाध्यक्ष चयन गरेको छ । यस्तै प्रदेश उपाध्यक्षहरूमा कोशी प्रदेशको लागि देवराज सुवेदी चयन भएका छन् । यसैगरी बलराम पोखरेल (मधेस), सोमबहादुर सापकोटा (बागमती), दामोदर बाँस्तोला (गण्डकी), नलबहादुर रानामगर (लुम्बिनी), देवीप्रसाद न्यौपाने (कर्णाली), ध्रुवराज उपाध्याय (सुदूरपश्चिम) र महिला उपाध्यक्ष पवित्रा घिमिरे चयन भएका छन् । यसैगरी महासचिवमा देवी खड्का र दुर्गानन्द ठाकुर चयन भएका छन् ।
नयाँ अध्यक्षबाट कार्यसमितिमा १५ सदस्य मनोनयन हुनेछ भने संस्थापक अध्यक्ष कृष्ण थापा पदेन रहनेछन् । निर्वाचित पदाधिकारी र सदस्यहरूको नामावली निर्वाचन समितिका सयोजक अधिवक्ता प्राणनाथ न्यौपानेले घोषणा गरेका थिए । सम्मेलनले सामुदायिक विद्यालयसम्बन्धी आठ बुँदे घोषणपत्रसमेत जारी गरेको छ ।