काठमाडौँ । सर्लाहीमा भारी वर्षाका कारण खोलामा आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ ।
मंगलवार साँझ बाढीमा फसेका ७२ जनाको उद्धार गरिएको छ । सर्लाहीको बाँके खोलाले बगाउँदा हरिपुर्वा नगरपालिका–७ का ६० वर्षीय भोला चौधरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । चौधरी सोमवार रातिदेखि नै बेपत्ता थिए ।
उनको शव मंगलवार बाँके खोलामा शव फेला परेको हो ।
सर्लाहीको बरहथवा नगरपालिकाअन्तर्गत पर्ने हजरियामा बागमती नदीमा आएको बाढीले बगाउँदा खेतमा काम गर्न गएका रौतहटको गढीमाई नगरपालिका–२ समनपुरका ६५ वर्षीय सहिद राईन भाटको मृत्यु भएको हो । लगत्तै उनलाई स्थानीयले उद्धार गरी अस्पताल पुर्याएका पनि चिकित्सकले मृत घोषणा गरे ।
बागमतीको बाढीले समनपुर घाटमा सर्लाहीतर्फको सडक बगाएको छ ।
यसैबीच बाढीका कारण बागमती नदीमा फसेका व्यक्तिलाई सुरक्षाकर्मीले उद्धार गरेका छन् । सर्लाहीको धनकौल गाउँपालिकाअन्तर्गत पर्ने महिनाथपुरका स्थानीय मंगलवार दिउँसो घाँस काट्न तथा गाईवस्तु चराउन गएका थिए ।
प्रहरीले बाढीमा फसेकामध्ये ७२ जनाको उद्धार गरेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।