प्रकाशपुर । बराहक्षेत्र नगरपालिकालाई मेलमिलाप मैत्री नगर बनाउने उद्देश्यले सञ्चालित ८ दिने मेलमिलाप सम्बन्धी आधारभूत तालिम आज (शनिवार) सुनसरीको चक्रघट्टीमा सम्पन्न भएको छ ।
बराहक्षेत्र नगरपालिकाको आर्थिक सहयोगमा कानुन अन्वेषण तथा स्रोत विकास केन्द्र सेलाईको प्राविधिक सहयोग र हाम्रो साझा अभियान इनरुवाको आयोजनामा तालिम सम्पन्न भएको हो ।
बराहक्षेत्र नगरपालिकाकी उपमेयर तथा न्यायिक समिति संयोजक नन्द कुमारी सुनुवार राईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सामाजिक विकास शाखा प्रमुख अरुण मेहेताको उपस्थित रहेको थियो ।
प्रमुख अतिथि राईले भनिन्, “बराहक्षेत्र नगरलाई मेलमिलाप मैत्री नगर बनाउन मेलमिलाप कर्ताको ठुलो जिम्मेवारी रहने छ । तपाईंहरुले भेदभाव रहित र कुनै प्रलोभनान नपरी आफनो भुमिका निर्वाह गर्नु हुने छ ।”
बराहक्षेत्र नगरका ११ वटै वडाका १५ जना महिलासहित ४४ जनाको सहभागिता रहेको तालिममा मेघराज न्यौपाने, विरेन्द्र बस्नेत र शान्ति दनुवारले सहजीकरण गरेका थिए ।
तालिममा प्रत्येक वडाबाट चार/चार जनाको सहभागिता रहेको थियो । सैद्धान्तिक र प्रयोगात्मक रुपमा सञ्चालित तालिमबाट मेलमिलाप सम्वन्धी प्रक्रिया चरणको बारेमा र कानुनी कुराहरुको बारेमा सिक्न पाएको सहभागी दिलु गजमेरले बताइन् । तालिम जनहित क्लबको भवनमा सम्पन्न भएको थियो ।