एजेन्सी । रातिको पार्टी सकिएपछि टाउको भारी हुन थाल्छ, बान्ता र रिँगटा लाग्न थाल्छ, थकाइ महसुस हुन थाल्दछ । मानिसहरू यसलाई धेरै पिएपछि भएको ‘ह्याङओभर’ हो भन्छन् । अधिक रक्सी पिएपछि प्रायः मानिसहरू ह्याङओभर भएको बताउँछन् । इजिप्टमा भेटिएको १९०० वर्ष पुरानो एउटा भोजपत्रमा यसबाट मुक्ति पाउने उपाय लेखिएको थियो।
किन हुन्छ त ह्याङओभर
विज्ञानले के भन्छ भने जब अधिक रक्सी पिएर हामीलाई ह्याङओभर भएको अनुभव हुन्छ या भनौँ जब टाउको भारी भएर दुख्न थाल्छ, रिँगटा लाग्छ तबसम्म हाम्रो शरीरमा रक्सीको अंश बाँकी नै हुँदैन।
रक्सी इथानोलबाट बन्छ। यसलाई हाम्रो शरीरमा भएको इन्जाइमले विग्रह गरेर अन्य विभिन्न रसायनमा परिणत गरिदिन्छ।
यी मध्यै सबैभन्दा महत्त्वपूर्ण एसिटेल्डिहाइड हो। यसलाई थप टुक्रा गरेर इन्जाइमले अर्को रसायन एसिटेटमा परिणत गरिदिन्छ। यही एसिटेट रसायन फ्याटीएसिड र पानीमा परिणत हुन्छ। केही वैज्ञानिकहरू ह्याङओभर यही एसिटेल्डिहाइडका कारण भएको विश्वास गर्छन्। तर केही अध्ययनहरूले यो रसायनको ह्याङओभरसँग प्रस्ट सम्बन्ध नहुने देखाएको छ।
केही जानकारहरू भने रक्सीमा मिसाइने अरू नै रसायनका कारण ह्याङओभर हुने बताउँछन्। तिनलाई कन्जेनर्स भनिन्छ।
ह्विस्की बनाउँदा अन्य धेरै किसिमका तत्त्व पनि निस्किन्छन्। धेरै पिएपछि मात्र मानिसहरूले तिनको उपस्थिति अनुभव गर्छन्।
कडा रङ्गका रक्सीमा यसको मात्रा बढी हुन्छ। त्यसैले बर्बन पिउँदा उत्तिकै भोड्का पिएभन्दा बढी ह्याङओभरको अनुभूति हुन्छ। तर यसको असर व्यक्तिपिच्छे फरकफरक हुन्छ।
साथै पिउनुको असर वा ह्याङओभर पनि पिउने मानिसको उमेर र पिएको मात्रा अनुसार भिन्न हुन्छ।
कसरी हटाउने ह्याङओभर
कसैले केरा खाए राहत हुन्छ भन्छन्। किनकि रक्सी पिउनाले शरीरमा भएको पोटासियम नष्ट हुन्छ र केरा खाए त्यसमा भएको पोटासियमले शरीरमा त्यसको कमी पूरा हुन्छ। तर पोटासियमको कमी एक रात रक्सी खाँदैमा हुँदैन, जुन केरा खाएर तुरुन्तै पूर्ति होस्।
कोही मानिसहरू ह्याङओभर हटाउन बिहान चिल्लोयुक्त नास्ता खानु पर्ने सुझाउँछन्। कोही भने पिउनु पहिल्यै पेटभरि खानु पर्ने बताउँछन्।
केही मानिसहरू अण्डा खाने सल्लाह दिन्छन्। अण्डामा हुने एमिनो एसिड भनिने रसायन एसिटेल्डिहाइड टुक्र्याउन प्रयोग हुन्छ। त्यसैले अण्डा खाएर राहत मिल्छ भनिन्छ। तर त्यस्तो तत्त्व त अन्य खानामा पनि पाइन्छ।
अहिलेको लागि भने रक्सी धेरै पिएर हुने समस्याबाट छुटकारा पाउने सबैभन्दा राम्रो उपाय भनेको आराम गर्नु, धेरै पानी पिउनु र एक चक्की एस्पिरिन लिनु हो।