पहिरोपछि अरुण नदि : बाँध भरिएर पुरानै बाटोमा नदी डाइभर्ट

न्युजलय १८ बैशाख २०८०, सोमबार ०८:०८ मा प्रकाशित

सङ्खुवासभा । अरुण तेस्रो जलविद्युत् आयोजनाअन्तर्गत सुरुङबाट पठाइएको पानी पुरानो मार्ग भएर बग्न थालेको छ । पहिरोको कारण सुरुङ थुनिएपछि निर्माणाधीन बाँधमा पठाइएको पानी भरिएर पुरानो मार्ग भएर बग्न थालेको हो ।

पानी बग्न थालेपछि जोखिम घटेको छ । नत्र बाँधमा धेरै पानी जम्मा भएर बाँध बगाउने सम्भावना हुन्थ्यो । १८ मिटर अग्लो बाँधमा पठाइएको पानीले करिब २ किलोमिटर ताल बनाएको छ । सो बाँध भरिएर पर्खाल माथिबाट पानी बग्न थालेको जिल्ला प्रशासन कार्यालय संखुवासभाले जानकारी दिएको छ । पहिरोको कारण क्षति पुगेको सुरुङ मर्मत गरी पुनः पानीको धार परिवर्तन गरिने अरुण तेस्रो परियोजनाले जानकारी दिएको छ ।

मकालु गाउँपालिका ५ फ्याक्सिन्दामा निर्माणाधीन बाँध निर्माण स्थलमा आइतबार बिहान पहिरो गएपछि करिब ८ घण्टा बाँधमा पानी जम्मा गरिएको थियो । पहिरोले नदि थुनिएपछि सप्तकोशी नदी आसपास सुनसरीको बराक्षेत्रमा सावधानी अपनाइएको थियो ।