हतुवागढी ४ का अपाङ्ग व्यक्तिहरुलाई सहयोगी सामाग्री वितरण

अर्जुन राई अपहेलित १७ मङ्सिर २०७८, शुक्रबार ०९:४३ मा प्रकाशित

खैराङ । भोजपुरको हतुवागढी गाउँपालिका वडा नम्बर ४ का अपाङ्ग व्यक्तिहरुलाई सहयोगी सामाग्री वितरण गरिएको छ । 


३० औं अन्तरास्ट्रिय अपाङ्गता दिवसको अवसरमा शुक्रबार (आज) वडाका अध्यक्ष चन्द्र बहादुर विष्टको अध्यक्षतामा उक्त सामाग्री वितरण गरिएको हो ।


कार्यक्रममा बोल्दै वडाध्यक्ष विष्टले सम्पूर्ण अपाङ्गता भएका व्यक्तिहरुलाई सम्मान गरौं भन्ने मनसायले कार्यक्रमको आयोजना गरिएको बताए । 


अध्यक्ष विष्टले अपाङ्ग भएका व्यक्तिहरुलाई प्रोत्साहनको लागि राज्यले हरेक सेवा सुविधा उपलब्ध गराएको उल्लेख गर्दै आगामी दिनमा वडाले पनि अन्य अपाङ्ग व्यक्तिहरुको पहिचान गरि आवश्यक सहयोग गर्ने बताए ।


कार्यक्रमकाबिच उपस्थित अपाङ्ग व्यक्तिहरुलाई खादा र अबिर लगाएर सम्मान गर्नका साथै एलकेन, क्वाड्रीपोड, ट्राइपोड, ह्विलचियर, सेतो छडि साथै सरसफाइका सामाग्री वितरण गरिएको थियो ।


उपस्थित मध्ये शान्तिमाया राईलाई ह्विलचियर प्रदान गरिएको थियो भने दृष्टिविहिन रविन सार्किलाई सेतो छडी, शारीरिक अपाङ्गता भएका पूर्णबहादुर राई र हर्कध्वज राईलाई क्याड्रीपोड, रत्नमाया तामाङलाई ट्राइपोड र धनकुमारी राईलाई एल केन (एल आकरको छडी) प्रदान गरिएको  हो । 


त्यस्तै अन्य उपस्थित अपाङ्गता भएका व्यक्तिहरुलाई भने सरसफाइका लागि साबुन वितरण गरिएको थियो ।


करुणा फाउन्डेसन, स्थानीय सरकार र प्रदेश सरकारको त्रीपक्षिय लागत साझेदारीमा अपाङ्ग नागरिकहरुलाई उक्त सामाग्री वितरण गरिएको अपाङ्गता सम्बन्धि सिविआरएफ सहजकर्ता रमा राईले बताइन् ।


विगतमा गरिएको स्वास्थ्य शिविरबाटै उनीहरुलाई छनोट गरि अपाङ्गता दिवसको अवसर पारेर सहयोगी सामाग्री उपलब्ध गराइएको जनाइएको छ । 


वडा सदस्य चतुरमान राईले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने वडासचीव यमुना राईले कार्यक्रमको सञ्चालन गरेकी हुन् ।


कार्यक्रममा हतुवागढी गाउँपालिका सदस्य तथा हतुवागढी ४ महिला सदस्य चन्द्रकला राई, वडा सदस्य विष्णु कुमारी राई, दलित महिला सदस्य निर्मला बि.क., हतुवागढी ४ का स्वास्थ्य संयोजक सुनिल राय, स्थानीय वुद्दिजिवी आशजित राई लगाएतको उपस्थिति रहेको थियो ।