काठमाडौं । सन्दीप लामिछाने नेपालको एकदिवसीय टिमको पनि कप्तान हुने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपलाई टी २० सँगै एकदिवसीय टिमको पनि कप्तानी दिइएको जनाएको हो।
क्यानका कार्यवाहक सचिव प्रशन्त मल्लले सन्दीपलाई एकदिवसीय टिमको पनि कप्तानको जिम्मेवारी दिइएको जानकारी दिए।
क्यानले यसअघि तत्कालिन कप्तान ज्ञानेन्द्र मल्ललाई हटाउँदै सन्दीपलाई नयाँ कप्तानको जिम्मेवारी दिइएको थियो। क्यानले उपकप्तानको जिम्मेवारी कसैलाई दिएको छैन। क्यानले आवश्यक परे मात्र उकप्तान नियुक्त गर्ने जनाएको छ।
सन्दीपको कप्तानीमा नेपालले चार देशसम्मिलित टी २० सिरिज र टी २० विश्वकप छनोट खेलेको थियो।
अब सन्दीपको कप्तानीमा नेपालले आगामी महिना युएईमा हुने आइसिसी क्रिकेट वर्ल्ड कप लिग २ को त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ।
सिरिजमा नेपालसहित घरेलु टिम युएई र पपुवा न्युगिनीबीच प्रतिस्पर्धा हुनेछ। नेपालले पहिलो खेल पपुवा न्युगिनीसँग मार्च १६ शारजाहमा प्रतिस्पर्धा गर्नेछ।
नेपालले सिरिजमा दुवै टिमसँग दुई दुई खेल गरी चार एकदिवसीय खेल खेल्नेछ।