इटहरी । नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ को आयोजनामा सुनसरी सदरमुकाम इनरुवामा ‘प्रथम इनरुवा उत्सव तथा चलचित्र महोत्सव २०७९’ हुने भएको छ । आयोजक समितीले इटहरीमास्थित डिथ्री अनलाइनको कार्यालयमा पत्रकार सम्मेलन गर्दै महोत्सव यहि फागुन ७ गते देखि १७ गते सम्म सञ्चालन हुने जानकारी गराएको हो ।
महोत्सवलाई इनरुवा नगरपालिकाले संयोजन गरेको छ । महोत्सवमा प्रदेश १ मा बनेका लामो तथा छोटो फिल्महरुलाई विशेष रुपमा प्रदर्शन गरिनेछ ।
यस्तै इनरुवाको नाम उच्च राख्ने शिक्षा, स्वास्थ्य, खेलकुद, चलचित्र, पत्रकारिता लगायतका क्षेत्रमा विशेष योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान गरिने महासंघका अध्यक्ष अरुण कुमार प्रधानले जानकारी गराए । प्रतिभा प्रवर्द्धन तथा स्थानिय उत्पादनलाई प्रोत्साहित गर्ने उद्देश्यले महोत्सवमा बेबी फेन्सी ड्रेस प्रतियोगिता, साहित्य सम्मेलन, उत्कृष्ट तरकारी उत्पादक प्रतियोगिता, विद्यालय स्तरीय नृत्य प्रतियोगिता, बेहुली सुन्दरी प्रतियोगिताको समेत आयोजना गरिने भएको छ ।
महोत्सवलाई अझ रोचक बनाउन नेता भर्सेज अभिनेता फुटवल खेल तथा हरेक साँझ सांस्कृतिक कार्यक्रम र विभिन्न जातिय झाकी प्रदर्शन गरिने प्रधानले बताए ।
सुरुवाती चरणमा महोत्सव ५ दिने गरिने तयारी रहेको भएपनि इनरुवावासीको उत्साह र चासोलाई ध्यानमा राख्दै ११ दिनसम्म लम्ब्याईएको हो । प्रदेश १ मा जन्मिएर लोकप्रिय बनेका कलाकारहरूको जमघट पनि महोत्सवमा देख्न सकिने बताईएको छ । कार्यक्रममा सहभागी अतिथीहरुलाई बराहक्षेत्र नगरपालिका क्षेत्रमा पर्ने प्रस्तावित फिल्मीसिटीको भ्रमण गराउने कार्यक्रम समेत रहेको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।