पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोग अध्यक्षलाई दुर्व्यवहार गर्ने नेविसंघ नेता पक्राउ

न्युजलय ३१ जेठ २०८०, बुधबार ०२:०४ मा प्रकाशित

काठमाडौँ । पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेशराज दाहाललाई दुर्व्यवहार गर्ने नेपाल विद्यार्थी संघ(नेविसंघ)का नेतालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

बुधबार(आज) बिहान सुनसरी प्रहरीले मोरङको बूढीगंगाबाट नेविसंघ मोरङका सभापति सरोज पोखरेललाई नियन्त्रणमा लिएको हो । सुनसरी जिल्ला प्रहरी कार्यालयले सेवा आयोगको जाहेरीका आधारमा पोखरेललाई नियन्त्रणमा लिएको जानकारी दिएको छ । सेवा आयोगको जाहेरीअनुसार अन्य ६–७ जनाको पनि खोजी भइरहेको छ ।

पूर्वाञ्चल विश्वविद्यालयमा २२ वर्षपछि विज्ञापन खुलाएर कर्मचारी भर्ना प्रक्रिया अघि बढाएका सेवा आयोग अध्यक्ष दाहाललाई नेविसंघ, मोरङले दुर्व्यवहार गरेको हो। इटहरीको आँपगाछीस्थित आवासमा प्रवेश गरेर सोमबार नेविसंघका नेताहरूले दाहालको अनुहारमा मोसोजस्तो कालो पदार्थ पोखिदिएका हुन् ।

पहिलो पत्रको परीक्षाको परिणाम सार्वजनिक भएपछि नेविसंघ, अखिल क्रान्तिकारी र अनेरास्ववियुले संयुक्त रूपमा विश्वविद्यालय, आयोगको कार्यालयलगायतमा तालाबन्दी गरेका थिए  ।

विश्वविद्यालयको पदपूर्ति प्रक्रिया रोकिएपछि गत जेठ १४ मा सुन्दरहरैंचा नगरस्तरीय सर्वपक्षीय भेला बोलाइएको थियो । भेलामा स्थानीय नेताहरूले निर्णय गरेर ताला फुटाएका थिए ।