पाँचथर बस दुर्घटना : चालक र सहचालकसहित १९ जनाको अवस्था गम्भीर

न्युजलय ९ कार्तिक २०७८, मङ्गलबार ०९:१३ मा प्रकाशित

पाँचथर । पाँचथर बस दुर्घटनामा घाइते भएका मध्ये १९ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।  

 

हाल रहेका ६१ घाइतेमध्ये चालक र सहचालकसहित १९ जना गम्भीर अवस्थामा रहेको पाँचथर प्रहरीले जनाएको हो ।


गम्भीर घाइते भएकाहरुको झापा र मोरङका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारीसमेत रहेका प्रहरी निरीक्षक डम्बर विश्वकर्माले जानकारी दिएका छन् । 


मध्य पहाडी लोकमार्ग फिदिम खण्डको सखरखण्डे क्षेत्रमा सोमबार दिउँसो ११ बजे बस दुर्घटनामा भएको थियो ।


उक्त घटनामा लेटाङका सात वर्षीय प्रज्वल मगर र इलामका ३४ वर्षीय प्रमिला देवान र उनको सात महिनाको छोरा निश्चल देवानको मृत्यु भएको प्रहरीले जनाएको छ । 


नाम बतन खुल्न बाँकी रहेको एक महिलाको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।


पाँचथरको कुम्मायक गाउँपालिका र फिदिम नगरपालिकाको सीमा सिवादोभानबाट यात्रु लिएर झापा जाने क्रममा को १ ख ३८६५ नम्बरको बस दुर्घटना भएको हो ।