झुम्का खानेपानीमा समस्यै समस्या, नयाँ आयोजना बनेपछि मात्र समाधान हुने

न्युजलय १२ बैशाख २०८०, मङ्गलबार ०१:३२ मा प्रकाशित

इटहरी । सुनसरीको रामधुनी नगरपालिकामा रहेको झुम्का खानेपानी तथा सरसफाइ मुल उपभोक्ता समितिको पानी वितरणमा समस्या देखिएको छ । 

धारामा पानी नियमित नआएको, तलामाथि नचढ्नेको, हिलोसहित फोहोर पानी आएको गुनासो सर्वसाधारण उपभोक्ताले गरेका छन् । विगत केही महिनादेखि खानेपानी नपाएपछि सर्वसाधारण ट्युबवेलको पानी खान बाध्य छन् । ‘धारामा आएको पानी पनि नउमालि खान सकिने अवस्था छैन,’ स्थानीय केशव शाह भन्छन्, ‘शुल्क तिर्ने काम मात्र भइरहेको छ ।’

खानेपानी वितरण अनियमित र भद्रगोल भएपनि उपभोक्ता समितिले भने तत्काल केही गर्न नसक्ने बाध्यता देखाएको छ ।

खानेपानी समितिले कुल साढे तीन लाख लिटरको दुई वटा ओभरहेड टेंकीमध्ये अहिले अढाइ लाख लिटरको एउटा मात्र प्रयोगमा ल्याउन सकेको छ । ट्रान्सफर्मरको अभाव, फिल्टरको अभावका साथै सतहमुनी पानी नै कम भएका कारण एउटा मात्र टेंकी प्रयोगमा ल्याउन सकिएको संस्थाले जनाएको छ । एउटा टेंकीको पानीले तीन सय उपभोक्तालाई मात्र पुग्ने गरेको छ ।  तर अहिले खानेपानी संस्थाले एक हजार दुई सय घरधुरीलाई पानी बाँडिरहेको छ । अझ नयाँ आयोजनाले त चार हजार एक सय धारा बाँड्ने योजनासहित धमाधम पाइप विछ्याइरहेको छ ।

पुरानो तीन वटा वेल मध्ये एउटा मात्र संचालनमा भइरहेको कारणले पनि पानी वितरणमा समस्या भइरहेको खानेपानी उपभोक्ता समितिका सचिव प्रेमकुमार खड्काले बताए । उनका अनुसार जमिनमुनी पानीको मात्रा कम छ । त्यसैले टेंकी भरिन झण्डै दोब्बर समय लागिरहेको छ । यस्तै यता अर्को टेंकीलाई पनि प्रयोगमा ल्याउन नयाँ फिल्टर जडान गर्न ५० लाख भन्दा बढी खर्च हुने भएकोले पनि खानेपानी पुर्याउन नसकिएको जनाइएको छ ।

‘धाराको माग धेरै आएको छ, तर पानीको क्षमता कम छ,’ खानेपानी उपभोक्ता समितिका सचिव प्रेमकुमार खड्का भन्छन्, ‘त्यसैले पानी पुर्याउन सकिएको छैन ।’ अहिले ५ नम्बर वडामा पुरा, ३ र १ नम्बर वडाको आधि, र २ नम्बर वडाको आंशिक भागमा मात्र खानेपानी वितरण भइरहेको छ । 

नजिकै अर्को नयाँ ओभरहेड टेंकीसहितको नयाँ खानेपानी आयोजना बनिरहेको छ । जसको आधा काम सकिएको छ । एडीबीको सहयोगमा बनिरहेको यो आयोजना २०२३ डिसेम्बर सम्ममा सकिने बताइएको छ । नयाँ बनिरहेको टेंकीको क्षमता ९ लाख लिटरको छ । यो पुर्वी नेपालकै सबैभन्दा ठूलो ओभरहेड टेंकी हो ।

एसियाली विकास बैंकको सहयोगमा बनिरहेको यो टेंकीको लागि थप ३ वटा वेलसमेत तयार भएको छ । योसहित जम्मा ६ वटा वेलको प्रयोग गरीनेछ भने प्रोजेक्ट अन्तगर्तनै वाटर फिल्टरसमेत थप भएपछि उपभोक्ताहरुको खानेपानीको समस्या समाधान हुने उनी बताउँछन् । ‘एक वर्ष चाहिँ दुःख गरिदिनु भन्न चाहन्छु,’ उनले भने । यस्तै पाइप विस्तारको काम सकिएपछि फोहोर पानी आउने समस्या समाधान हुनेछ ।

खानेपानी निर्माण परियोजनाका कन्सल्टेन्ट प्रदिप भण्डारीकाअनुसार निर्माणाधिन खानेपानी आयोजनाले २० वर्षसम्मको जनसंख्या वृद्धिदर धान्न सक्छ । खानेपानी आयोजना अत्याधुनिक रहेकोले उपभोक्ताले बढिभन्दा बढी लाभ पाउने उनी बताउँछन् ।