इटहरी । इटहरीका विभिन्न क्षेत्रका अगुवाहरुको सहभागितामा नगरको भविष्यको बारेमा छलफल गरिएको छ ।
इटहरीमा नागरिकस्तरबाट सञ्चालन थालिएको भोलिको इटहरी भिजन २०५० अभियानअन्तर्गत गरिएको छलफलका क्रममा बोल्ने वक्ताहरुले नगरको भविष्यको बारेमा सोच्न आवश्यक रहेकोमा जोड दिएका थिए ।
इटहरीको इतिहासबारे पुस्तक इतिहासमा इटहरीको संकलन र सम्पादन गरेका पत्रकार हिमाल दाहालले कार्यक्रममा भोलिको इटहरीको योजना निर्माणको मोडल प्रस्तुत गरेका थिए । इटहरीका विभिन्न ११ वटा प्राथमिकताका क्षेत्रहरुको बारेमा स्थानीय कम्तिमा ११ वटा संघसंस्थाहरुले प्रत्येक क्षेत्रको नेतृत्व लिएर तात्कालिन र दीर्घकालिन योजना तयार पारिने खाका प्रस्तुत गरिएको थियो ।
तात्कालिन योजनाहरु सम्बन्धित पक्षले तत्काल लागु गर्न सकिने र दीर्घकालिन योजनाहरुको कार्यान्वयनको लागि योजना बनाएर दिइने बताइएको छ । नगरको दीर्घकालिन योजना स्थानीय सरकारले बनाउनुपर्ने भएपनि चासो नदिँदा नगरको विकास दिगो र प्रभावकारी हुन नसकेकोले जनस्तरबाट यो अभियान सञ्चालन गरिएको जानकारी दिइएको छ ।
धेरै सम्भावनाहरुका बिचमा पनि इटहरीका विभिन्न समस्याहरु वर्षौंदेखि समाधान हुन नसकेकोमा सहभागिहरुले चिन्ता व्यक्त गरेका थिए । यस्तै इटहरीले भोग्दै आएका समस्याहरु दीर्घकालिन रुपमै समाधान गर्न र इटहरीलाई आकर्षक गन्तव्य बनाउनका लागि व्यवस्थित काम गर्नुपर्ने विचार राखिएको थियो ।
कार्यक्रममा बोल्दै व्यवशायी कृष्ण शाहले इटहरीको सुरक्षामा ध्यान दिनुपर्ने बताए । लगानी सुरक्षा तथा मानव संशाधन विकासलाई पनि नगरले प्राथमिकतामा राख्नुपर्ने धारणा राखे ।
राजनीतिज्ञ केशव विष्टले शहरलाई प्रभाव पार्ने विभिन्न २३ वटा फ्याक्टरमा ध्यान दिनुपर्ने बताउँदै इटहरीको पहिचान खोज्नुपर्ने बताए । उनले स्पोर्टस् सिटि भयो भने इटहरीको अन्तर्राष्ट्रिय सम्बन्ध स्थापित हुने बताए ।
साहित्यकार मनु मन्जिलले इटहरीमा मानिस आउने कारण बनाउन सक्नुपर्ने र इटहरीबाट जाँदा केही कुरा लान सक्ने वातावरण बनाउनुपर्ने बताए । यस्तै संरचना बनाउँदा सौन्दर्यलाई पनि ध्यान दिनुपर्ने धारणा राखे ।
प्राध्यापक डा. बद्रीविशाल पोख्रेलले शहरको आन्तरिक सौन्दर्यमा ध्यान दिनुपर्नेमा जोड दिँदै नगरमा सेवा निवृत्तहरुको सहयोग नगरको विकासमा दिनुपर्ने बताए ।
यस्तै राजनीतिज्ञ रमेश खत्रीले सही नेतृत्वको छनोट गर्न नसकेको कारण नगरको विकास सोचेजस्तो नभएको र भ्रष्टाचार बढेको बताउँदै नगरवासी सचेत हुनुपर्ने बताए ।
प्राध्यापक कमलेश शर्मा पौडेलले नगरका आधारभुत आवश्यकताको उचित व्यवस्थापन गर्दै गरीखाने शहर बनाउनका लागि भविष्यसम्मको कल्पना गर्नुपर्ने बताए ।
समाजसेवी हेम घिमिरेले नगरको विकासको योजना बनाउने खास काम स्थानीय सरकारको भएको बताउँदै त्यसमा चासो नहुनु दुःखद कुरा भएको बताए । उनले राम्रो काम गर्नेहरुलाई प्रोत्साहन गर्ने वातावरण बन्नुपर्नेमा जोड दिए ।
युवा राजनीतिज्ञ, व्यवशायी शुभेच्छु देवानले चीनको विकासलाई हेरेर इटहरीको विकासको नीति बनाउन सकिने बताए । उनले इटहरीमा विश्वस्तरीय ब्राण्डहरुलाई भित्राएर बिजनेश हब बनाउन सकिने धारणा राखे । यस्तै शहरी क्षेत्रलाई रि डिजाइन नै गरेर जानुपर्नेमा जोड दिए ।
समाजसेवी राजु केसीले सरकारले गर्ला कि भनेर कुरेर बस्नुभन्दा जसले जे सकिन्छ गर्नुपर्ने बताए । इतिहासलाई लिएर भविष्यतर्फ जानुपर्ने बताए ।
यस्तै राजनीतिज्ञ काशीनाथ दंगालले इटहरीले हिजोको आफ्नो परिचय जोगाउन नसकेको र सुरक्षित नभएको बताए । यस्तै उनले स्थानीय सरकारले आवधिक योजना पनि बनाउन नसकेको अवस्थामा नागरिक तहबाट भविष्यसम्मको योजना बनाउन गाह्रो रहेको बताउँदै स्थानीय सरकारले नै गर्नुपर्नेमा जोड दिए ।
सञ्चारकर्मी गुरुङ सोल्टीले अबको इटहरी बनाउनुपर्ने र त्यसमा स्थानीय सरकारलाई उत्तरदायी बनाउनुपर्ने बताए । उनले साना साना परिवर्तनबाट काम सुरु गर्नुपर्नेमा जोड दिए ।
व्यवशायी तथा कलाकर्मी प्रज्वल पराजुलीले इटहरीले आफ्नो एउटा विशेष परिचय निर्धारण गरेर त्यसमा केन्द्रित हुनुपर्ने र अन्य क्षेत्रलाई सहायक रुपमा विकास गर्ने अवधारणा बनाउनुपर्ने सुझाव दिए । उनले मानव संशाधनलाई पनि प्राथमिकता दिनुपर्ने सुझाए । उनले नगरको भविष्य निर्धारण गर्दैगर्दा २५ वर्षको समय निकै लामो हुने बताउँदै निकै गहन सुझबुझ र योजना आवश्यक रहेको बताए ।
राजनीज्ञि रामप्रसाद चौलागाईले इटहरीको मौलिक विकासमा जोड दिए । उनले शिक्षामा सुधार आवश्यक भएको बताए । यस्तै जतिसक्दो चाँडो विकासका लागि कोसिस गर्नुपर्ने बताए ।
नागरिक समाज इटहरी अध्यक्ष आरके राईले इटहरीको भविष्यको एरिया पहिले छनोट गरेर योजना बनाउनुपर्ने बताए । अन्य विकसित शहरहरुसँग तुलना गरेर उपयुक्त नीति र प्राथमिकता लिएर अघि बढ्नुपर्ने सुझाव दिए ।
प्राचार्य बोधराज नेपालले भोलिको इटहरीले नीति र योजना मात्र होइन, त्यो योजनालाई कार्यान्वयन गर्ने नेतृत्व पनि उत्पादन गर्नुपर्नेमा जोड दिए । उनले इटहरीको शिक्षा क्षेत्रले दक्ष जनशक्ति उत्पादन गरिरहेको बताउँदै इटहरीलाई आइटी हब बनाउन सकिने सम्भावना रहेको बताए ।
भोलिको इटहरी अभियान एक वर्षसम्म चल्ने र त्यसको लागि व्यवस्थापन टिम, विज्ञ टिम र संघसंस्थाहरुको टिम बन्ने प्रक्रियामा रहेको जानकारी दिइएको थियो । भोलिको इटहरी अभियानका लागि वेवसाइट निर्माण भएको छ भने चैतको दोस्रो साता विज्ञहरुको भेलासहितको कार्यक्रम गर्ने तय गरिएको छ ।
कार्यक्रम सुरुवात र समापन जेनिसा सुमनले गरेकी थिइन् ।