इटहरी । नेपाल आदिवासी जनजाति पत्रकार सङ्घ (फोनिज) सुनसरीको तेस्रो जिल्ला अधिवेशनबाट सर्व सहमतिमा नयाँ कार्य समिति चयन भएको छ । तरहराका नबिन गुरुङलार्इ सर्वसहमतिमा अध्यक्षमा चुनिएको थियो ।
खुल्ला सत्र भई स्थगित भएको जिल्लाको तेस्रो अधिवेशनअन्तर्गत सोमबार सम्पन्न बन्दसत्रपछिको निर्वाचन मण्डलले गुरुङको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा सुनिल चौधरी, सचिवमा सुम्निमा चाम्लिङ राई, सहसचिवमा सपतकोशि एफ एम इटहरीका लीलानाथ (एलन) गच्छदार र कोषाध्यक्षमा इनरुवाकी राजकुमारी चौधरी छन् ।
कार्यसमिति सदस्यमा बसन्त वान्ताव राई, मौसमी लिम्बु, विश्व राई, रश्मी प्रधान, स्वर्णिम फोम्बो र कमला चौधरीलाई पनि सर्वसम्मत चयन गरेको छ ।
बाँकी रहेका २ सदस्य चयन गर्ने अधिकार कार्यसमितिलाई प्रदान गरिएको निर्वाचन समितिका संयोजक गोपाल देवानले जानकारी दिए । यसैगरि, फोनिजको प्रदेश अधिवेशनको लागि पार्षद र केन्द्रीय महाधिवेशनको लागि केन्द्रीय पार्षद चयन गर्ने अधिकार पनि कार्यसमितिलाई नै दिइएको देवानले बताए ।