विराटनगर । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले वैशाख १ गतेदेखि हर्न बजाउन निषेध गर्ने भएको छ ।
गत पुस २७ गते बसेको नगर सभाको निर्णयअनुसार महानगर क्षेत्रभित्र वैशाख १ गतेदेखि प्रेसर हर्न बजाउन निषेध (नो हर्न) गर्न लागिएको महानगरका मेयर नागेश कोइरालाले जानकारी दिए । ध्वनि प्रदूषण नियन्त्रण गर्ने महानगरको योजनाअन्तर्गत सवारी साधनको प्रेसर हर्न बजाउन निषेध गर्न लागिएको उनको भनाइ छ ।
केही हप्ताअघि महानगरले धार्मिक संघसंस्था, साउण्ड सिस्टम प्रतिनिधिलगायतलाई बोलाएर ध्वनि प्रदूषण नियन्त्रणका विषयमा छलफल गरेको थियो । छलफलमा सरोकारवालाहरूले डिजे र सवारीको प्रेसर हर्न बजाउन निषेध गर्नुपर्ने सुझाव दिएका थिए ।
विराटनगर कोशी प्रदेशको राजधानीसँगै प्रदेशको एकमात्रै महानगरपालिका भएकाले यसलाई व्यवस्थित र सभ्य बनाउने दायित्व सबैको भएको मेयर कोइरालाले बताए । उनले महानगरले सरसफाइ, फुटपाथ नियन्त्रण, सडकलाई पार्किङ निषेध, कर संकलनलगायतका अभियान सञ्चालन गरिरहेको सुनाए । पार्किङस्थललाई व्यवस्थित बनाउने कार्य भइरहेकाले केही दिनभित्रै विगतको निर्णय प्रभावकारी रुपमा कार्यान्वयन गरिने मेयरको भनाइ छ ।
उनले महानगर क्षेत्रभित्र प्रेसर हर्न नबजाइदिन सरोकारवालालाई आग्रह पनि गरेका छन् ।
ध्वनि प्रदूषण नियन्त्रणका लागि महानगरवासीबाट थुप्रै सुझाव आएको उपमेयर शिल्पा निराला कार्कीले जानकारी दिइन् । प्रेसर हर्न बजाउन निषेध गर्दा कोलाहललाई कम गरी शान्त र सभ्य सहरका रुपमा विराटनगर स्थापित हुने कार्कीले बताइन् ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले ट्राफिक प्रहरीसँगको सहकार्यमा वैशाख १ देखि प्रेसर हर्न निषेध गर्ने तयारी गरिएको जानकारी दिए ।
यस्तै, सार्वजनिक स्थलमा ध्रुमपान, खैनी, चुरोट, पानपराग, गुट्खा लगायतको सेवन गर्न समेत निषेध गरिने भएको छ।