झापा । झापामा गर्ने भनेर सबै तयारी गरिसकिएको नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक काठमाडौ सारिएको छ । अन्तिम समयमा आएर काठमाडौंस्थित केन्द्रीय कार्यालय च्यासलमा सारिएको हो ।
वैशाख २९–३१ गतेसम्म झापाको दमकमा बस्ने गरी तय गरिएको बैठक अचानक सार्नुलाई एमालेले संसद्को बजेट अधिवेशनलाई कारण देखाएको छ । संसद्को दोस्रो ठूलो दल चार दिन बाहिर जाँदा प्रभावित हुने भएकाले बैठक सारिएको एमाले नेता विष्णु रिमालले जानकारी दिए ।
एमालेको केन्द्रीय कमिटी बैठक पहिलोपटक उपत्यका बाहिर बस्ने गरी तय भएको थियो । यसपटकको बैठक संघीय राजधानीमै फर्किए पनि ६ महिनापछि बस्ने बैठक भने झापामा नै हुने रिमालको भनाइ छ ।
रिमालले बजेट अधिवेशनलाई कारण देखाएपनि केही नेताहरुको असन्तुष्टी, प्रदेश नामकरण विवादका कारण हुनसक्ने विरोध प्रदर्शनका कारण बैठक सारिएको एमाले नेताहरु बताउँछन् । तर रिमाल भने आरोपलाई निराधार बताउँछन् । ‘पहिले मधेसमा लखेटिँदा पनि गएकै थियौँ, कोसी एमालेको मात्रै त होइन होला नि,’ उनले भने ।