विराटनगर । नेपाली काँग्रेस कोशी संसदीय दलका नेता उद्धब थापा पुनः मुख्यमन्त्री नियुक्त भएका छन् । उनी सभामुखको हस्ताक्षर प्रयोग गरि सरकार गठन गरेको कारण २२ दिनमै मुख्यमन्त्रीबाट बर्खास्त भएका थिए । अहिले भने सभामुख बाबुराम गौतमले सभामुखबाट राजिनामा दिइसकेकोले उनी फेरी मुख्यमन्त्री चयन भएका हुन् ।
प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको १६८ को उपधारा २ अनुसार काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थन पाएका थापालाई मुख्यमन्त्री नियुक्त गरेका छन् ।
थापालाई मुख्यमन्त्री बनाउन काँग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जसपाका १ सांसदको समर्थन रहेको छ । योसँगै प्रदेश सभामा बहुमत अर्थात ४७ सांसद पुगेको छ ।
तत्कालिन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत नपाएपछि असार २१ गते थापा मुख्यमन्त्री नियुक्त भएका थिए । तर, साउन ११ गते संविधान मिचेर थापाको नियुक्ति भएको भन्दै सर्वोच्च अदालतले उनको नियुक्ति खारेज गरिदिएको थियो ।
कोशी प्रदेशसभामा एमालेका ४०, काँग्रेसका २९, माओवादीको सभामुखसहित १३, राप्रपाको ६, नेकपा एकीकृत समाजवादीको ४ र जसपाको १ सांसद छन् ।