१५ वर्षअघि पोखरामा मारिएका धरानका राई को थिए ?

न्युजलय १४ पुस २०७८, बुधबार १२:०६ मा प्रकाशित

 पोखरा । धरानका रोजन राईको हत्या भएको १५ वर्षपछि हत्यारा पक्राउ परेका छन् । 

राईको २९ वैशाख २०६३ मा पोखराको सातमुहाने हत्या भएको थियो । धरान घर बताउने रोजन सातमुहानेमा खोलामा तटबन्धको काम गर्थे । काम गर्ने क्रममा अशोक गुरुङले दाउराको चिर्पटले प्रहार गर्दा रोजन घाइते भएका थिए । घाइते उनको उपचारका क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको थियो । 

 रोजन राईको हत्या भएको १५ वर्ष पुगिसकेको छ । त्यतिबेला २० वर्षका उनको पोखरामा न कोही आफन्त थियो, न चिनाजानी । हत्याको विरुद्धमा चासोखाँचो लिने कोही भएनन् । प्रहरीले संदिग्धहरुलाई समात्यो । कसैको संलग्नता पुष्टि गरेन । झगडामा संलग्न अशोक प्रहरीबाट मुक्ति पाएपछि अशोक वैदेशिक रोजगारीमा जान्छन् । हत्याकाण्ड त्यसै सेलायो ।

रोजनको हत्या भएको १५ वर्षपछि फेरि त्यो हत्याकाण्ड सतहमा आएको छ । 

अशोक गुरुङ त्यही हत्यामा संलग्न रहेको प्रहरीले अनुसन्धानबाट पत्तो लगाउँछ । तर उनी भने रोजगारीका लागि बहराइनमा रहेको पनि खुल्छ । कास्की प्रहरीको अनुसन्धानकै आधारमा नेपाल प्रहरीले गएको २७ मंसिरमा अशोकका विरुद्ध रेड नोटिस जारी गरेको थियो । बहराइन प्रहरीले त्यही नोटिस बमोजिम अशोकलाई पक्राउ गरेको  छ । यसै साता उनलाई नेपाल ल्याइँदैछ । 

 मृतक रोजनलाई चिन्नेजान्ने पोखरामा कोही थिएनन् । उनलाई खोज्दै पनि कोही आएन । मात्रै सातमुहानेका स्थानीयसँग उनले आफ्नो घर सुनसरीको धरान भएको बताएको सूचना कास्की प्रहरीले फेला पा¥यो । त्यो पनि १५ वर्षपछि ।

 २१ असारमा कास्की प्रहरी प्रमुख भएर यहाँको कमान्ड सम्हाल्न आएका एसपी रमेश थापा पुराना जघन्य अपराधको सूची हेर्दै थिए । त्यसैमा उनले राईको हत्यारा पत्ता नलागेको देखे । त्यसपछि गहिरो अनुसन्धानमा खटिए । अनुसन्धानबाट अशोकको संलग्नता देखियो । इन्टरपोलमा राखिएको रेड नोटिसका आधारमा उनी पक्राउ पनि परिसके । अब कास्की प्रहरी हत्या भएका रोजन राईका आफन्तको खोजीमा छ ।

 ‘घर सुनसरी धरान हो भनेको थाहा भयो,’ एपी थापा भन्छन्, ‘तर चिनेजानेका कोही भेटिएनन् ।’ कास्की प्रहरीले जिल्लाबाहेक अरु ठेगाना नखुले पनि सुनसरी प्रहरीलाई रोजनका आफन्तको खोजीका लागि अनुरोध पनि गरिसकेको छ । तर पत्ता लागेको छैन ।

 रोजन मारिइसके । हत्यारा १५ वर्षपछि भए पनि पक्राउ परे । अब किन चाहियो रोजनका आफन्त रु एपी थापा भन्छन्, ‘आफन्तलाई न्यायको अनुभूति होस् भन्ने हो ।’ उनले प्रहरी अनुसन्धान प्रतिवेदनकै आधारमा आरोपित अशोक गुरुङ विरुद्ध मुद्दा चल्ने भए पनि आफन्तको जाहेरीसमेत हुँदा अझै राम्रो हुने पनि बताए ।

अपराध अनुसन्धानमा दख्खल भएका एसपी थापा पुरानो जघन्य अपराधका दोषी पत्ता लगाउन सफल भएका छन् । उनलाई १५ वर्षअघि मारिएका राईका आफन्त खोजी गरी न्यायको प्रत्याभूति दिलाउने मन छ ।