एजेन्सी । पश्चिमी देशहरुको प्रतिबन्ध झेलिरहेको रुसले भारतलाई सस्तोमा तेलको कच्चा पदार्थ किन्न प्रस्ताव गरेको छ । भारतलाई उसले सस्तो मूल्यमै कच्चा तेल किन्न प्रस्ताव गरेको हो । विश्व बजारमा कायम मूल्यभन्दा प्रति ब्यारेल २० देखि २५ डलर सस्तो दाममा कच्चा तेल बेच्ने प्रस्ताव गरेको छ । कच्चा तेल भारतीय बन्दरगाहसम्म आफैँ ढुवानीसमेत गरिदिने र इन्स्योरेन्स रकमसमेत स्वयं तिर्ने रुसी प्रस्ताव छ ।
यदि भारतले रुसको यो प्रस्ताव स्वीकारेमा सस्तो दाममै कच्चा तेल पाउनेछ । आज अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल १०७ अमेरिकी डलर छ । तेल किन्न सम्झौता सम्पन्न भएमा भारतीय रुपैयाँ र रसियन मुद्रा रुबलमै भुक्तानी हुनेछ ।
भारतले आफ्नै मुद्रा तिरेर रुससँग कच्चा तेल किन्दा अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा बलियो बन्छ । जसको कारण अमेरिकी डलर कमजोर बन्नेछ । डलरको तुलनामा भारू बलियो हुँदा नेपाली मुद्रालाई समेत फाइदा गर्छ ।
पश्चिमा मुलुकले रुसबाट तेल आयात कटौती गरिरहेका छन् । बेलायतले सन् २०२३ सम्म रुसबाट तेल नकिन्ने घोषणा यसअघि नै गरिसकेको छ । जसको कारण रुसले आफ्नो प्रमुख बजार युरोपको बिक्री घटेपछि तेलका अन्य ग्राहक खोजिरहेको छ ।
भारत वर्षेनी खपत हुने सयौं मिलियन टनभन्दा बढी पेट्रोलियम पदार्थमध्ये ८५ प्रतिशतभन्दा धेरै आयातमा निर्भर छ । बाँकी १५ प्रतिशत कच्चा तेल मात्रै भारतमा उत्पादन हुन्छ । भारतले आयातित कुल तेलमध्ये ६० प्रतिशत तेल खाडी मुलुकबाट किन्दै आएको छ । भारतले सबैभन्दा धेरै तेल साउदी अरब र अमेरिकासँग किन्छ ।
यस्तै, इराक, इरान, ओमान, कुवेत र रुसबाट पनि केही मात्रामा खुला बजारका आधारमा तेल किन्दै आएको छ । यसैगरी, कतार, संयुक्त अरब इमिरेट्सबाट समेत तेल उठाउँदै आएको छ ।