इटहरी । नेपाल पत्रकार महासंघ सुनसरीले निष्क्रिय सदस्यहरुलाई सदस्यता त्याग्न आग्रह गरेको छ । शाखाको मंगलबार बसेको कार्यसमिति बैठकले सदस्यता शुद्धीकरण अभियानलाई प्रभावकारी बनाउने निर्णय गर्दै यस्तो आग्रह गरेको हो ।
नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको सर्कुलर बमोजिम पत्रकारितामा लामो समयदेखि क्रियाशील नभएका र अन्य पेशामा लागेकाहरूलाई सदस्यता परित्याग गर्न जिल्ला शाखाले आग्रह गरेको छ । सचिव ध्रुव ढकालद्वारा जारी विज्ञप्तीमा आफै सदस्यता त्याग गरेको लिखित जानकारी गराउने सदस्यलाई सम्मानसहित विदाइ गरिने उल्लेख छ ।
यस्तै बैठकले जनप्रतिनिधि, सरकारको पूर्णकालीन कर्मचारीको सदस्यता स्वतः समाप्त हुने गरि जिल्ला शाखाले प्रक्रिया अगाडि बढाउनेसमेत निर्णय गरेको छ । बाँकी क्रियाशील सदस्यहरुलाई भने आगामी वैशाख १० गतेसम्म सदस्यता नवीकरणका लागि आग्रह गरेको छ ।
यसअघि स्थानीय तहको निर्वाचनबाट जनप्रतिनिधि निर्वाचित भएका इटहरीका दिवस पोख्रेल र धरानका दिनेश गजमेरले सदस्यता त्याग गरेका थिए । उनीहरुलाई साधारणसभामा स सम्मान विदाइ गरिएको थियो ।