इटहरी । इटहरी १२ खनारस्थित पूर्वाञ्चल मिल्क एन्ड फुड्स प्रालिको उद्योगमा म्याद गुज्रिएको कच्चा पदार्थ पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय टोलीले म्याद गुज्रिएका कच्चा पदार्थ भेटेको हो ।
अनुगमन टोलीका प्रमुख खाद्य निरीक्षकका अनुसार म्याद गुज्रिएका फ्लेभरिङ एजेन्ट, प्रिजर्भेटिभ, पाउडर पदार्थ र जङ्क–फुड फेला परेको हो । टोलीले अनुसन्धान गर्ने जानकारी दिएको छ ।
यता कम्पनिले भने ती खाद्यवस्तुहरु डिस्पोज गर्ने तयारीमा रहेको र प्रयोगमा नल्याइएको जनाएको छ । स्टोर निर्माणाधिन रहेको अवस्थामा म्याद गुज्रिएका वस्तुहरु पनि छेउमा सँगै राखिएको, तर प्रयोगमा नल्याएको जनाएको छ । एक विज्ञप्ती जारी गर्दै ठाउँ अभावमा एकै ठाउँमा राखेको अवस्थामा फेला पारिएको बताइएको छ । आफूले सो विषयमा टोलीलाईसमेत जानकारी गराएको कम्पनिले जानकारी दिएको छ ।
आफूहरु गुणस्तर र उपभोक्ताको स्वास्थ्यप्रति सचेत रहेकोसमेत कम्पनिले जनाएको छ ।
इटहरीबाट सुरु भएको पुर्वाञ्चलको शाखा विराटनगर, दमक, पथरीमा समेत विस्तार भइसकेको छ । ‘हामीले उपभोक्ताहरुको माया पाइरहेका छौं । त्यसैले हामी उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्ने, सामान्य नाफाको लागि अखाद्य वस्तुको प्रयोग गर्ने भन्ने कुरा सोच्न पनि सक्दैनौं,’ कम्पनिले जनाएको छ ।