‘शब्दथुम’लाई दुई लाखको पुरस्कार, पत्रकार रेग्मीलाई प्रतिभा सम्मान

न्युजलय २५ कार्तिक २०८१, आइतबार ११:०६ मा प्रकाशित

धरान । लेखक तथा कवि प्रकाश थाम्सुहाङद्वारा लिखित निबन्ध ‘शब्दथुमले दुई लाख रुपैयाँ राशीको पुरस्कार पाएको छ ।


शनिबार धरान १८ स्थित विमल गुरुङ स्मृति पुस्तकालयद्वारा आयोजित कार्यक्रममा थाम्सुहाङलाई २०८० सालको कवि विमल गुरुङ कृति पुरस्कार दिइएको हो । उनलाई नगद दुई लाख रुपैयाँ, ताम्रपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।


सोही कार्यक्रमको अवसर पारेर इटहरीमा रहेर पत्रकारितासँगै साहित्य सिर्जनामा सक्रिय रहेका विवेक विवश रेग्मीलाई कवि विमल गुरुङ स्मृति पुस्तकालय युवा सम्मान पुरस्कारले नगदसहित सम्मान गरेको छ । साथै, कार्यक्रममा कवि विमलको कविता संग्रह एक किलो जंगल कृतिको लोकार्पणसमेत गरिएको थियो ।


सोही कार्यक्रममा ३३ औँ राष्ट्रिय कविता महोत्सवसमेत आयोजना गरियो । प्रतियोगितामा नवलपरासीको अन्जान प्रदीप (प्रदीप ढुङ्गाना) प्रथम, बेलायत बस्ने शान्ति लिम्बू दोस्रो र मोरङकी समीक्षा छिलिङ राई तेस्रो भइन् । उनीहरूले क्रमशः नगद २१ हजार, १८ हजार र १७ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरे । ८१ कविताहरूमध्ये १० कविता छनौट गरिएको थियो ।