बोक्सी भनेर कुटपिट गर्ने पूर्वगाविस सचिवलाई कैद सजाय

न्युजलय ३१ जेठ २०८०, बुधबार ०३:२२ मा प्रकाशित

राजविराज । बोक्सी भन्दै अमानवीय व्यवहार गरेको आरोपमा पूर्वगाविस सचिव रामकुमार यादवलाई कैद सजायको फैसला भएको छ । 

यादवलाई १५ दिनको कैद सजायका साथै १० हजार रूपैयाँ जरिवाना गर्ने फैसला गरेको हो। बिष्णुपुर गाउँपालिका–२ सिम्राहा सिग्यौन घर भई पछिल्लो समय राजबिराज नगरपालिका–६ मा बस्ने ६२ वर्षीय यादवबाट क्षतिपूर्तिस्वरूप पीडितले १५ हजार रूपैयाँ पाउने भएकी छन् ।

राजविराज नगरपालिका–६ की एकल महिला ४२ वर्षीया कविता मिश्रले दिएको उजुरीमा कैदसजाय भएको हो । 

आरोपितका तीन छोराहरू रमेशकुमार यादव, राजेशकुमार यादव, उमेशकुमार यादव, रामकुमारका भाइ रामअधिन यादव र निजकी पत्नी पञ्चीदेवी यादवले भने सफाइ पाएका छन् । आरोपित रामकुमार अवकाश प्राप्त गाविस सचिवका साथै गाविस हक हित संरक्षण केन्द्रका पूर्वउपाध्यक्ष समेत हुन् ।

पीडितको घरकोठाभित्र ०७६ कात्तिक ११ गते प्रवेश गरी कथित बोक्सी भनेर कुटपिट गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।