अमेरिकाका एक पुरुषले शरीरमा ८६४ वटा किरा फटेङ्ग्राको टाटू खोपाएर राखे विश्व कीर्तिमान

न्युजलय २२ माघ २०७८, शनिवार ०२:५५ मा प्रकाशित

काठमाडौं । आफ्नो शरीरभरि किरा फटेङ्ग्राका ८६४ वटा टाटू खोपाएर गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल अमेरिकाको न्युयोर्क निवासी एक पुरुषले दिएको अभिव्यक्ति सबैलाई अस्वाभाविक लागेको छ ।


माइकल एमोइयाले वास्तवमा आफूलाई किरा फटेङ्ग्राको नाम सुन्नासाथ घिन लाग्ने गरेको बताएका छन् । 

  

उनले यो विश्व उपाधि बेलायती पुरुष बाक्सटर मिल्सोमबाट खोसेका हुन् ।


यसअघि मिल्सोमले शरिरमा ४०२ वटा किरा फटेङ्ग्राको टाटु खोपाएर विश्व कीर्तिमान राखेका थिए । एमोइयाले २१ वर्षको उमेरमा आफ्नो पाखुरामा रातो रानी कमिला खोपाएर अनौठो शौखको शुरुवात गरेका थिए ।

 

उनले मानिसहरूले प्रायः आफ्नो शरीरका टाटु हेर्दै आफूलाई किराफटेङ्ग्रा प्रेमी होला भनेर गलत अन्दाज गर्ने गरेको बताएका छन् । उनले आफू तिनीहरू देखेर बरु डराउने गरेको बताएका छन् । तर अँध्यारो चिजको पनि सकारात्मक र उज्यालो सन्देश दिनुपर्छ भन्ने उद्देश्यले आफूले यस्ता टाटु खोपाउने गरेको उनी बताउँछन् ।