प्रकाशपुर । सुनसरीको बराहक्षेत्र नगरपालिका १०, प्रकाशपुरस्थित प्रकाशपुर सामुदायिक स्वास्थ्य चौकीले बिरामीहरुका लागि निःशुल्क थर्मल थेरापी सेवा सुरु गरेको छ ।
हाडजोर्नीका बिरामीको सहजताका लागि सेवा सुरु गरिएको हो । वडा कार्यालयको पहलमा चौकीमा सेवा सुरु गरिएको चौकीका इन्चार्ज प्रेमनाथ चौधरीले जानकारी दिए ।
यसले विपन्न वर्गका बिरामीलाई राहत पुग्ने विश्वास चौधरीले व्यक्त गरे । वडाध्यक्ष तेज गुरुङले चुनावी घोषणापत्रमा घोषित प्रतिबद्धता पूरा गर्न आफू तत्पर रहेको बताए । उनले वडाका ज्येष्ठ नागरिकलाई ज्येष्ठ नागरिक भत्ता लिन जाँदा लाग्ने यातायात खर्च वडाले नै उपलब्ध गराउने घोषणासमेत गरे ।