इटहरी । सुलभ मुल्यमा आफैले घरनक्सा बनाइदिने घोषणा गरेको इटहरी उपमहानगरपालिकाले अब अनलाइनबाटै घरनक्सा पास गर्ने भएको छ । कागजको फाइल बोकेर शाखा शाखा धाउन र लामो लाइनमा बस्नुपर्ने बाध्यताबाट अब सेवाग्राही मुक्त हुने भएका छन् । एक कार्यक्रमको आयोजना गर्दै इटहरी उपमहानगरपालिकाले इलेक्ट्रोनिक बिल्डिङ परमिट सिस्टम (ईबीपीएस) सुरु गरेको छ ।
छिटो–छरितो र सहज सेवा प्रवाह गर्न र भवन निर्माण मापदण्डलाई थप प्रभावकारी बनाउन नक्सा पासलाई अनलाइन प्रणालीमा लगिएको नगर प्रमुख हेमकर्ण पौडेलले बताए । यो प्रणाली लागु गरेपछि सहज रुपमा तथ्यांक खोजेको समयमा प्राप्त हुनेछ । त्यसका साथै फाइल भण्डारण गर्ने झन्झटबाटसमेत उपमहानगर मुक्त हुनेछ भने फाइल हराउने, किराले खाने र बिग्रिने समस्याबाटसमेत मुक्ति मिल्नेछ । ‘केही कर्मचारीहरुका कारण सेवाग्राहीले दुःख पाउनुपर्ने अवस्थासमेत हट्नेछ,’ मेयर पौडेलले भने ।
यो प्रणाली अनुसार घरनक्सा दर्तादेखि सम्पन्न प्रमाणपत्र दिनेसम्मका सम्पूर्ण काम अनलाइनबाट हुने इञ्जिनियर कैलाश तिम्सिनाको भनाइ छ । यसले सेवा प्रवाहमा हुने ढिलासुस्ती र बाहनाबाजीलाई निरुत्साहित गराउने उपमहानगरपालिकाको विश्वास छ ।
प्रक्रिया
प्राविधिकहरुका अनुसार यो सिस्टममा सेवाग्राहीहरुले वेवसाइटमार्फत् प्रवेश गर्नेछन् र आफ्नो तथ्यांक भर्नेछन् । नक्सा पास गर्न चाहिने जग्गाको लालपुर्जा, नागरिकता, फोटो, सम्पत्ति कर तिरेको रसिद, नापीनक्सा जस्ता घरजग्गासँग सम्बन्धित आवश्यक कागजपत्र स्क्यान गरेर सबै फाइल ‘एटयाच’ गरीनेछ ।
त्यसपछि डिजाइन डेस्कले गरेको डिजाइनलाई डकुमेन्ट रजिष्ट्रेशन डेस्क, टेक्निकल डेस्क ‘एक्ज्युकेटिभ डेस्क’ हुँदै फाइल आफै सिस्टममा जानेछ । यसभित्र सर्जिमिन गर्नेबाहेकको सबै काम पेपरलेस हुनेछ ।
सबै कागजपत्र तयार भएको अवस्थामा २० दिनभित्र नक्सापास हुनेछ । सेवाग्राहीहरुले अनलाइनबाटै नक्सापास पाउनेछन् ।