इटहरीले मिसगिटी ओसार्न प्रयोग गरेका टिपर वनको नियन्त्रणमा, मेयर भन्छन्, ‘झुटो मुद्धामा फँसाउने षड्यन्त्र हुनसक्छ’

न्युजलय २९ बैशाख २०८०, शुक्रबार ०७:४२ मा प्रकाशित

इटहरी । इटहरी उपमहानगरपालिकाले मिसगिटी ओसार्न प्रयोग गरेका पाँच वटा टिपर जिल्ला वन कार्यालयले नियन्त्रणमा लिएको छ । 

इटहरीका विभिन्न बाटो पुर्नका लागि बुढीखोलाबाट मिसगिटी बोकेर फर्किएको टिपरलाई मिसगिटी र चालकसहित नियन्त्रणमा लिएको हो । वन कार्यालयले गाडीहरु वन कार्यालय परिसरमा राखेको छ । इटहरीका कार्यवाहक मेयर दिवस पोख्रेलसहितका वडाध्यक्षहरु वन कार्यालय पुगेका छन् । कार्यालयभित्र जनप्रतिनिधिहरुलाईसमेत छिर्न निषेध गरिएको छ ।

यसैबिच वन कार्यालयका प्रमुखले व्यक्तिगत रिसइबी साँध्नको लागि ट्याक्टर नियन्त्रणमा लिएको बताउँदै तुरुन्त छाड्न माग गरेका छन् । उनले जनप्रतिनिधिलाई झुटो मुद्धामा फँसाउने षड्यन्त्रसमेत भएको आभाष पाएको बताएका छन् ।

उनकाअनुसार वन कार्यालयभित्र राखिएका ट्याक्टरबाट वडा नं. लेखिएका ब्यानरहरु हटाइएको छ । ‘झुटो आरोप र मुद्धा लगाएर जनप्रतिनिधिहरुलाई फँसाउने षड्यन्त्र भइरहेको आभाष पाएको छु,’ उनले भने, ‘प्रदेश सरकार र प्रहरी प्रशासनसँग समस्या समाधानको लागि आग्रह गर्छु ।’ उनले के के सामान नियन्त्रणमा लिइएको हो भनेर जानकारी माग्दा पनि नपाएको बताए ।

तालिमको लागि दक्षिण कोरिया जाने क्रममा काठमाडौमा रहेका मेयर पौडेलले वन कार्यालय प्रमुखले फेसबुक लाइभमार्फत् इटहरीवासीलाई प्रतिरोधका लागिसमेत आह्वान गरेका छन् । आफूलाई मेयरले राम्रो रेस्पोन्स नगरेको भन्दै केही दिनअघि वन कार्यालय प्रमुखले भनेको र सोही कुराको रिस फेरेको हुनसक्ने मेयर पौडेलले बताएका छन् । ‘डिएफओ मेरो कार्यालयमा आउनुभएको थियो र रेस्पोन्स गरेको हो, तर अरु कस्तो रेस्पोन्स खोज्नुभएको हो, थाहा छैन,’ उनले भने, ‘कि कतै नजराना चढाउने सिस्टम थियो भने त्यो थाहा भएन र हामी त्यसको पक्षपाती होइनौं ।’

उनले आफ्नो क्षेत्रभित्र रहेको वनको उपभोग र रक्षा गर्ने काम उपमहानगरपालिकाको पनि भएको बताएका छन् । उनले खोलाजन्य वस्तु उत्खननका लागि ऐन कानुन संशोधन गर्न बारम्बार माग गरेपनि सुनुवाई नभएको बताए । उनले खोलाजन्य वस्तु उत्खनन गर्दैछौं भनेर दुई पटकसम्म पत्र काटेको बताउँदै कार्यपालिकाबाट स्वीकृत भएको मापदण्ड र वातावरणीय परिक्षण प्रतिवेदनअनुसार नै उत्खनन गरेको जिकिर गरे । 

उनले तत्काल गाडी र चालकलाई रिहा गर्न माग गरे । यही विषयमा शनिबार आपतकालिन कार्यपालिका बैठकसमेत बस्न लागेको पौडेलले बताए ।

‘आइतबार मुद्धा चलाउँछु, मेयरले वास्ता गरेन भन्ने देखाइदिन्छु भन्ने जस्ता कुरा डिएफओले गरेको थाहा पाएको छु,’ उनले भने, ‘जनताका लागि जेल जानुपरे जान्छौं, तर मजदुर र सवारीलाई तुरुन्त छाड्नुपर्छ ।’