निर्मला पन्त हत्या प्रकरण : साढे तीन वर्षपछि शंकास्पद युवक पक्राउ

न्युजलय १९ पुस २०७८, सोमबार ०९:२२ मा प्रकाशित

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न भएको आरोपमा प्रहरीले पछिल्लो पटक थप एक शंकास्पद युवकलाई पक्राउ गरेको छ ।

 

पक्राउ परेका ती युवकको डिएनए परीक्षणसहित अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुर स्रोतले जनाएको छ।


१० साउन ०७५ मा कञ्चनपुरको भीमदत्त नगरपालिका उल्टाखामकी १३ वर्षीया किशोरी निर्मलाको बलात्कारपछि हत्या भएको थियो। महेन्द्रनगरस्थित साथीको घरबाट हराएकी किशोरी पन्तको मृत शरीर भोलिपल्ट स्थानीय उखुबारीमा फेला परेको थियो।


घटनाको ४१ महिनासम्म पनि प्रहरीले अपराधि पत्ता लगाउन सकेको छैन। जसको कारण प्रहरी प्रशासनको चौतर्फी आलोचना भइरहेको छ।

 

बलात्कारपछि घाँटी थिचेर निर्मलाको हत्या भएको पोस्टमार्टम रिपोर्टले त्यतिबेलै देखाएको थियो। निर्मला पन्त हत्या प्रकरणमा प्रहरीले अहिलेसम्म एक दर्जनभन्दा धेरैमाथि गहिरो अनुसन्धान गरिसकेको छ। 


पछिल्लो सयम समातिएका ती युवकको गतिविधि शंकास्पद देखिएपछि डीएनए परीक्षणसहितको अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। 


निर्मला पन्त हत्या प्रकरणमा गृहमन्त्रालय, राष्ट्रिय मानवअधिकार आयोगसहितका निकायले पनि छानविन गरिसकेका छन्।