नयाँ बजेटमा पर्यटनतर्फका योजना राम्रा, तर कर नघटाउँदा समस्या : बस्नेत

न्युजलय १६ जेठ २०८१, बुधबार १२:४१ मा प्रकाशित

काठमाडौं । सरकारले ल्याएको बजेटलाई पर्यटन व्यवशायीहरुले सकारात्मक रुपमा लिएका छन् । बजेटले देशको पर्यटन पूर्वाधार विकासमा ठूलो फड्को मार्ने अपेक्षा जागेको बताएका छन् । 


उद्योग वाणिज्य महासंघका हवाई तथा पर्यटन समितिका सभापती देशबन्धु बस्नेतले निजी क्षेत्र उत्साहित भएको बताएका छन् । सँगै उनले करको समस्या समाधान नभएकोमा चिन्तासमेत व्यक्त गरेका छन् । 


‘त्रिभुवन विमानस्थलको दोस्रो टर्मिनल निर्माण, निजगढको लगानी ढाँचा तयारी सक्ने, निजगढ अन्तरराष्ट्रिय विमानस्थल सार्वजनिक–निजी साझेदारीमा निर्माण गर्न आगामी आर्थिक वर्षभित्र लगानीको ढाँचा र पूर्वतयारीको काम सम्पन्न गर्ने जस्ता घोषणा गरेको छ, जुन सकारात्मक पक्ष हो,’ उनले भने, ‘बजेटले उड्डयन क्षेत्र विस्तारका लागि ३ अर्ब ७७ करोड रुपैयाँ विनियोजन गरेको छ भने नेपालको पर्यटन पर्यटन पूर्वाधार विकासका लागि ५ अर्ब ४६ करोड विनियोजन गरेको छ । जसका कारण नेपालमा सहज रुपमा विदेशी पर्यटक भित्र्याएर सोही अनुरुप विदेशी मुद्रा आर्जन गर्न सकिनेछ ।’


पर्यटन पूर्वाधार विकासका साथै सरकारले आगामी आर्थिक वर्षमा १६ लाख पर्यटक भित्र्याउने घोषणा गरेको छ । जनकपुरलाई ‘वेडिङ हब’ र लुम्बिनीलाई ‘बर्थिङ हब’ बनाइनुका साथै दुवै क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने विषय समावेश गरिएको छ । यस्तै जनकपुरलाई वैवाहिक समारोह गर्न आउने विदेशी पर्यटकलाई सहजीकरण गरी सांस्कृतिक तथा पर्यटकीय गन्तव्यलाई विवाह गन्तव्यको रूपमा विकास, प्रवर्द्धन तथा प्रोत्साहन गरिने बजेटमा उल्लेख छ । ‘यस्ता नीतिका कारण नेपालमा भौगोलिक वातावरणमा रमाउन चाहने विदेशी पर्यटकहरु आउने संख्यामा उल्लेखनीय वृद्धि हुने देखिन्छ,’ उनले भने ।


यसैगरी भरतपुर विमानस्थल विस्तार आगामी आर्थिक वर्षमै सम्पन्न गर्ने लक्ष्य लिइएको छ भने सुर्खेत विमानस्थलको स्तरोन्नति, रोल्पाको बडा चौर, दाङको टारी गाउँ, जुम्ला, विराटनगर, धनगढी र नेपालगञ्ज विमानस्थल स्तरोन्नति गरिने विषय बजेटले समेटेको छ । संचालनमा नरहेका बलेवा, लामिडाँडा, मनाङ, बैतडी, रुम्झाटार लगायत आन्तरिक विमानस्थललाई निजी क्षेत्रको सहकार्यमा प्याराग्लाइडिङ, अल्ट्रालाइट, स्काइ ड्राइभिङ लगायत मनोरञ्जनात्मक साहसिक पर्यटनको रुपमा उपयोग गरिने उल्लेख गरिएको छ । 


सीमावर्ती क्षेत्रबाट स्वर्गद्वारी र मुक्तिनाथसम्म बस सेवा सञ्चालन, मध्यपहाडी पुष्पलाल लोकमार्ग क्षेत्रका पर्यटकीय गन्तब्यमा होटल स्थापना गर्न सरकारी जग्गा लिजमा उपलब्ध गराइने विषयसमेत सह्रानीय रहेको बताएका छन् । 


सरकारले गतवर्षबाट हवाई टिकटमा लगाएको मूल्य अभिबृद्धि करका कारण पर्यटन तथा हवाइ सेवाका व्यवशायीहरु समस्यामा परेको बताएका छन् । कर नहटाउँदा नयाँ विमान तथा विमानको पार्टपुर्जा खरिद गर्न नसकिरहेको बताए । 


यस्तै विदेशी पर्यटक आकर्षिक गर्न तारे होटलमा लगाईएको लक्जरी कर हटाउनुपर्नेमा यथावत राखिएकोले पनि समस्या उत्पन्न भएको बस्नेतले बताए ।