काठमाडौँ । दैनिक उपभोग्य वस्तुको भाउ थोक बिक्रेताले घटाएका छन् । तर खुुद्रा व्यवशायीको फटाईले गर्दा उपभोक्ताले भने घटेको मूल्यमा सामान पाउन सकेका छैनन् ।
थोक व्यापारीले पछिल्लो तीन महिनाको बिचमा खाने तेल, चामल, चिनी, दहलन, आँटा, मैदाको मूल्य १० देखि ४० प्रतिशत घटेको दाबी गरेका छन् । तर खुद्रा व्यापारीहरूले भाउ खासै नघटेको भन्दै उपभोक्तालाई कम मूल्यमा सामान बेच्न चाहेका छैनन् ।
नेपाल खुुद्रा व्यापार सङ्घका अध्यक्ष पवित्र वज्राचार्यले थोक व्यापारीले भनेजस्तो बजारमा उपभोग्य वस्तुुको भाउ नघटेको दाबी गरेका छन् । आफूहरुको प्रतिष्पर्धा धेरै भएकोले भाउ घटाउन नमिल्ने बताएका छन् । नेपाल खुद्रा व्यापार सङ्घको मासिक बजार मूल्य बुलेटिनमा पनि केही मूल्य घटेको देखिन्छ तर किराना पसलले थोकको दाबी अनुसार वस्तुको मूल्य नघटाएको उपभोक्ता अधिकारकर्मी आरोप लगाउँछन् ।
चामलमा प्रतिबोरा दुई सय रुपियाँ, सनफ्लावर तेल प्रतिलिटर २५० रुपियाँबाट घटेर १८० रुपियाँ, सोयाबिन तेलको मूल्य २४० रुपियाँबाट १४५ रुपियाँ थोकमा कारोबार भएको छ भने मैदा प्रतिकेजी ११५ रुपियाँबाट घटेर प्रतिकेजी ६० रुपियाँमा झरेको छ । मुसुरो दाल, मास दाल, रहर दाल, गेडागुडी प्रतिकेजीमा १० देखि २० रुपियाँसम्म घटेको थोक व्यवसायी सङ्घले जनाएको छ ।
उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले थोकमा घटेको खाद्यवस्तुुको भाउ खुुद्रामा किन्ने उपभोक्ताले महसुस गर्न नपाउनुु सरकारका नियमनकारी निकायको निकम्मता भएको बताएका छन् ।